मुस्ताङ, फागुन २४ :

मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । 

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- १ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्याउन सेवा दिइरहेका छन् ।

मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने हुन्छ । बसपार्कबाट मुक्तिनाथसम्म पैदल जान शारिरीक रूपले तन्दुरूस्त हुने दर्शनार्थीका लागि कुनै समस्या पर्दैन । तर, बसपार्कबाट मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वारसम्म पुग्न ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएका दर्शनार्थीका लागि भने निकै समस्या र चुनौती छ । मुक्तिनाथको पहिले गेटबाट मन्दिर प्रवेशद्वारसम्म रेलिङसहितको ठाडो उकालो पैदल हिँड्नुपर्ने हन्छ । बसपार्कबाट पहिलो गेटसम्म समथर बाटो छ ।

बसपार्कबाट रानीपौवा बजार हुँदै मन्दिर जाने बाटोमा मोटरसाइकल र कुनै पनि सवारीसाधन लैजान पाइँदैन । यो त्यहाँको गाउँसमाजले बनाएको नियम हो । गाउँभित्रको पर्यटनमा असर नपुगोस् भन्ने हेतुले बसपार्कबाट माथि कुनै पनि सवारीसाधन लैजान निषेध नै गरिएको छ । यसैका कारण मुक्तिनाथका दर्शन गर्ने धोको बोकेर आइपुगेका दर्शनार्थी पैदल हिँड्न नसक्ने अवस्था भएमा घोडा वा स्टेचरमा चढेर मुक्तिनाथ पुग्नुपर्ने बाध्यता हुन्छ ।

वारागुङ मुक्तिक्षेत्र- १ अन्तर्गत खिङ्गा, झारकोट, मुुक्तिनाथ रानीपौवा र छेङ्गुर गाउँका युवाले घोडामा चढाएर लैजान वैकल्पिक व्यवसाय चलाएका छन् । 
त्यहाँको चारवटा गाउँका युवाले मात्रै सशुल्क घोडा चढाएर दर्शनार्थीलाई मुक्तिनाथ पुर्याउने सेवा दिएका छन् । 

वारागुङ मुक्तिक्षेत्रका यी चारवटा गाउँबाहेक अन्यत्रका युवाले त्यहाँ गएर दर्शनार्थीलाई घोडामा चढाएर मुक्तिनाथ लैजाने काम गर्न पाउँदैनन् । यात्रीलाई घोडामा चढाएर मुक्तिनाथ ओसारपोसार गर्न समितिसमेत गठन गरिएको छ ।

घोडा समितिमार्फत घोडामा दर्शनार्थी लानेलैजाने सेवालाई व्यवस्थित गरिएको छ । यसरी रानीपौवा बसपार्कबाट मुक्तिनाथ प्रवेशद्धारसम्म दर्शनार्थी ओसारपोसार गरेबापत नेपाली आन्तरिक दर्शनार्थीलाई चार सय र भारतीय दर्शनार्थीलाई भारू चार सय शुल्क निर्धारण गरिएको छ ।

मुक्तिनाथ रानीपौवाका स्थानीय युवा उर्गेन पाल्देन गुरूङले घोडा चढाउने व्यवसायले स्थानीय युवालाई वैकल्पिक आयआर्जनको माध्यम बनेको बताए । देशमा युवा जनशक्ति पलायन भइरहेको अवस्थामा युवाालाई गाउँमा रोक्न घोडा चढाएर मुक्तिनाथ लाने लैजान व्यवसायले निकै ठूलो योगदान दिएको बताए । 

गाउँमा विकाससँगै पर्यटनको सम्भावना बढिरहेको अवस्थामा पनि युवहरू वैदेशिक रोजागारमा जाने अवस्था रहेकाले यस प्रकारको घोडा चढाउने व्यवसायले यहाँका युवापङ्क्तिलाई यहीँ आर्यआर्जन गर्न सक्ने गतिलो माध्यम बनेको उनको भनाइ छ ।

वारागुङ मुक्तिक्षेत्र–१ को चारवटा गाउँमा एक २० घरपरिवारले मुक्तिनाथमा दर्शनार्थीलाई घोडा चढाएर जीविकोपार्जन गर्दै आइरहेका छन् । समितिअन्तर्गत सञ्चालन भएको दर्शनार्थीलाई घोडा चढाउने व्यवसायमा सबै गाउँका एकसाथ आएर पनि आलोपालो गरी दर्शनार्थी ओसारपोसार गर्न पाउँछन् । 

घोडाबाट दर्शनार्थी ओसारपोसार गर्न बिहानै ७ बजेभित्र घोडावाला धनीले नाम टिपाउनुपर्छ । नाम टिपाएपछि रोलक्रमअनुसार आलोपालो घोडा चढाएर मुक्तिनाथ लैजान पाउँछन् । यसरी दिनभरि घोडा चढाएरको पैसा हिसाब गरेर बाँड्छन् ।