
भोटेकोसी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि युरो स्कुल, हात्तीगौंडाले ११ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
विद्यालयले आफ्नै कोषबाट उक्त रकम बाढी राहतका लागि उपलब्ध गराएको हो। विद्यालयका अनुसार उक्त रकम निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मार्फत हस्तान्तरण गरिएको छ। प्याब्सनले निजी विद्यालयहरूबाट प्राप्त सहयोग रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।
आर्थिक सहयोगसँगै विद्यालयका अभिभावक समुदायले बाढीपीडित परिवारका लागि खाद्यान्नलगायत अत्यावश्यक सामग्री पनि संकलन गरेका छन्। अभिभावकबाट संकलित एक ट्रक राहत सामग्री नेपाल आर्मी वाइभ्स एसोसिएसन (नावा)लाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका कक्षा १० का विद्यार्थीसमेत सहभागी भएका थिए। विद्यार्थीको सहभागिताले विपद्का समयमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सेवाभाव तथा समुदायप्रतिको जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विद्यालयले जनाएको छ।
विद्यालयले शिक्षा कक्षाकोठा र शैक्षिक उपलब्धिमा मात्र सीमित नरहेको बताउँदै विद्यार्थीलाई समाज र राष्ट्रप्रति जिम्मेवार, संवेदनशील तथा सहयोगी नागरिकका रूपमा विकास गर्नु शिक्षाको महत्वपूर्ण उद्देश्य रहेको जनाएको छ।बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले विद्यालय तथा अभिभावक समुदायले गरेको आर्थिक तथा सामग्री सहयोगले राष्ट्रिय राहत अभियानमा योगदान पुगेको विद्यालयको भनाइ छ।