काठमाडौं महानगरपालिका–८ अन्तर्गत गौरीघाट पुलदेखि गुह्येश्वरी मन्दिरसम्मको सडकखण्डमा ढुङ्गा छाप्ने काम सुरु गरिएको छ।
लामो समयदेखि हिलो र चिप्लोको समस्या रहेको उक्त सडकखण्डमा मंगलबार वडा नं. ८ का वडाध्यक्ष आशामान संगतले शिलान्यास गरेसँगै पुनःनिर्माणको काम अघि बढाइएको हो। पहिलो चरणमा करिब १ हजार ७ सय वर्गमिटर सडकमा ढुङ्गा छाप्न करिब ८७ लाख रुपैयाँ लागतमा काम थालिएको वडाले जनाएको छ।
त्यस्तै, दोस्रो चरणमा थप १ हजार १ सय वर्गमिटर क्षेत्रमा ढुङ्गा छाप्न करिब ९० लाख रुपैयाँको खरिद प्रक्रिया अघि बढाइएको छ। उक्त कामका लागि २०८३ असार ९ गते निर्माण कम्पनी एट्रिकसँग सम्झौता भएको र आगामी २०८३ मंसिर २९ गतेसम्म निर्माण सम्पन्न गर्ने समयसीमा तोकिएको छ।
निर्माण कार्यको थालनी गर्दै वडा नं. ८ का अध्यक्ष तथा काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक संगतले पुरातात्विक तथा ऐतिहासिक महत्वका क्षेत्रमा यसअघि कालोपत्रे गरिएका सडकलाई परम्परागत निर्माण शैली र विधिअनुसार पुनःनिर्माण गर्न थालिएको बताए।
उनका अनुसार पशुपति क्षेत्र, जयबागेश्वरी, नवाली टोल र गुह्येश्वरीलगायतका क्षेत्रमा ढुङ्गा छाप्ने काम सम्पन्न भइसकेको छ। ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका क्षेत्रमा आधुनिक संरचनाको साटो मौलिक स्वरूप कायम गर्ने अभियानलाई तीव्रता दिइएको उनले बताए। वडाध्यक्ष संगतले दशैंलगत्तै जयबागेश्वरीदेखि भुवनेश्वरीसम्मको सडकमा समेत ढुङ्गा छाप्ने काम सुरु गरिने जानकारी दिए।
उनकै योजना र सल्लाह बमोजिम नै जयबागेश्वरीदेखि सिफलसम्मका सडक दायाँबायाँका घरहरुको अघिल्लो भागलाई समेत मौलिक स्वरूपमा परिवर्तन गर्ने काम भइरहेको छ ।केही घरको मोहडा (फसाद) परिवर्तन गरिसकिएको छ भने अब केहीमात्र बाँकी छ । सुन्दर बन्दै गरेका ती घरहरु देख्दा त्यहाँ पुग्ने जो कोही मानिस एकछिन टक्क रोकिएर नहेर्ने कोही हुँदैनन् । यहाँ पुग्दा सबैलाई प्राचीन सहरभित्र पुगेको भान हुन्छ ।
जयबागेश्वरीदेखि सिफलसम्मको सडकमा ढुङ्गा छाप्ने काम यसअघि नै सम्पन्न भइसकेको छ। जयबागेश्वरी आसपासका अधिकांश गल्लीमा समेत ढुङ्गा छापेर क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाइएको छ। गुह्येश्वरी मन्दिरसम्मको सडकखण्डको काम सम्पन्न भएपछि त्यसभन्दा अगाडि बस्ती क्षेत्रतर्फको सडक स्तरोन्नति गर्ने योजना रहेको वडाध्यक्ष संगतले बताए।
शिलान्यास कार्यक्रममा वडासदस्यहरू सरस्वती राज भण्डारी, राजलक्ष्मी भुसाल, सलोनी ओडारी पराजुलीलगायत स्थानीयवासीको उपस्थितिमा गरिएको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।