विराटनगर, कात्तिक १ :

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ‘६९ औँ प्रहरी दिवसका- २०८१’ का अवसरमा आयोजित विशेष कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले अपराधीलाई कानुनको दायराभित्र ल्याउन सक्ने नेपाल प्रहरी अन्तर्राष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसङ्ग उल्लेख गर्नुभयो ।

उहाँले आफूलाई सबल र सक्षम साबित गर्न प्रहरी सङ्गठन समयानुकूल बत्रु पर्ने धारणा राख्नुभयो ।

प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सङ्गठनलाई दुई वर्षभित्र साधन र स्रोतले सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारले प्रहरी ऐन बनाएर छिट्टै प्रदेश सरकारलाई प्रहरी समायोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

सात दशक इतिहास बोकेको नेपाल प्रहरी अहिले पनि साधन र स्रोतले सम्पन्न हुन नसक्नु दुःखद विषय हो भन्दै सङ्घीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले प्रहरी संरचना सवारीमा ठूलो लगानी गरेको जानकारी दिनुभयो ।

सूचना प्रविधिको विकाससँगै प्रहरीले पनि आफूलाई सोही स्तरमा परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले जनताको जीउ धनको सुरक्षा गरेर समाजमा सुशासन कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।