दार्चुलाको उत्तरी सिमानामास्थित टिंकर गाउँका स्थानीय छ महिनापछि गाउँ फर्किएका छन् । गत मङ्सिरमा चिसो छल्न गाउँ छोडेर खलङ्गा झरेका ७० परिवार पुनःगाउँ फर्किएका हुन् ।
गत मङ्सिरमा कठोर जाडो छल्न गाउँ छाडेका यहाँका स्थानीय वैशाख अन्तिम साता मात्रै पुनःफर्किएका छन् । ‘छ महिनापछि फर्कंदा आफ्नो घरको ढोका देवी–देवता भरोसामा जस्तोको तस्तै रहेछ,’ स्थानीय जसपाल तिंकरीले भने, ‘भगवान् भरोसा छोडिएका घरका ताला खुलेका छन् ।’ छ दिनको यात्रापछि अहिले सबै स्थानीय गाउँपुगेपछि चहलपहल बढेको छ ।
टिंकर पुग्न नेपालकै भूमि भएर जान सकिने गोरेटो बाटो छैन । स्थानीय भारतको बाटो हुँदै कठिन यात्रा गरी गाउँ पुगेका छन् । वडा नम्बर १ का वडा सदस्य एवं टिंकरका स्थानीय हितेश बुढाथोकीले भन्नुभयो, ‘आफ्नै भूमि भएर गाउँ फर्किन नपाउँदा नरमाइलो लाग्छ ।’आफ्नो गाउँ जान भारतीय अनुमति लिनुपर्दा अपमानित महसुस हुने गरेको स्थानीयको गुनासो छ । राज्यले समयमै पूर्वाधार निर्माणमा ढिलाइ गर्दा यहाँका नागरिकले सास्ती खेप्नुपरेको हो ।
सरकारले विशेष अनुदानअन्तर्गत चालू आर्थिक वर्षमा रु पाँच करोड ५० लाख बजेट पठाएको भए पनि गाउँपालिकाले ठेक्कामा ढिलाइ हुँदा बाटो बन्न सकेन । यद्यपी गाउँपालिकाले यसै साता मात्र निर्माण कम्पनी छनोट गरेको छ ।
यो पटक आफ्नै भूमि भएर गाउँ जाने सपना बुनेका व्यासीहरू अन्ततः भारतकै भूमि भएर गाउँ फर्किनुपरेको बुढाथोकी बताउँछन्। उनी भन्छन्, ‘कहिलेकाही आफ्नै सरकारप्रति हिनताबोध हुन्छ ।’ विसं २०७७ जेठ ७ गते सरकारले चुच्चे नक्सा जारी गर्दा स्थानीय निकै खुसी थिए । ‘भूगोल नआए पनि नक्सामा हाम्रो भन्ने अधिकार पाएको महसुस ग¥यौँ,’ जसमल बुढाथोकीले सुनाउनुभयो, ‘तर नक्सा पाएका नागरिकको लागि पैदलबाटो बनाउन सरकारले यतिका वर्ष लगाउँदैछ । सडक सपना त अझै धेरै टाढाको छ ।’
नक्साजारी भएपछि एकपटक सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्यो । नागरिकमा एक प्रकारको खुसी महसुस छायो । तर विस्तारै ती सबै सपना जस्तै लाग्न थालेको स्थानीय दानसिंह तिंकरीको बुझाइ छ । उती बेला राज्यका माथिल्लो निकायबाट भएको भ्रमण हेर्दा व्याससम्म सडक चाडै पुग्ने विश्वास थियो ।
यहाँका बासिन्दा वर्षको आधा समय खलङ्गामा र बाँकी समय टिंकरमा बस्ने गर्छन् । उनीहरूको भाषामा यसलाई ‘कुञ्चा’ सर्नु भनिन्छ । कुञ्चा भनेको सौका समुदायको भाषामा बसाइसराइ हो । तीन हजार तीन सय मिटर उचाइमा अवस्थित यस गाउँमा ६ फिटभन्दा बढी हिउँ पर्ने हुँदा हिउँदमा बस्न सकिँदैन दानसिंह भन्छन् । चिसो छल्न उनीहरू परिवार, पशुचौपाया, खाद्यान्नसहित खलङ्गातिर सर्छन् ।
चिसो मौसम भएका कारण छ महिनागाउँ सुनसान हुन्छ । घरका ढोकामा चाबी लगाइएको हुन्छ । दानसिंहले थप्नुभयो, ‘अहिलेसम्म गाउँमा चोरी भएको घटना छैन । यो सबै भगवान्को देन हो ।’ हामीहरूको संस्कृति, परम्परा र पूजापाठमा गहिरो आस्था छ । यही कारण कोही नहुँदा पनि हाम्रो खाद्यान्न, घर सुरक्षित नै रहेको हुन्छ ।
स्थानीयको मुख्य जीविकोपार्जन कृषि, व्यापार र जडिबुटी सङ्कलन हो । यहाँ फापर, उवा, काकनु, आलु गहुँजस्ता अन्नबाली उत्पादन हुन्छ । उनीहरू गाई, चौरी, खच्चड, घोडा, बाख्रा पाल्छन् । अहिले गाउँपुगेपछि स्थानीय आलु फापर, गहुँ, छर्ने तयारीमा छन् ।
चीनसँगको व्यापार खुला हुँदा तिब्बतसँग किनमेल गर्थे । पछिल्लो समय भने चीनबाट खाद्यान्न आउन रोकिएको छ । नेपालमा मात्रै बसोबास गर्ने व्यासी सौका समुदायको मात्रै यहाँ बसोबास हुन्छ ।
परम्परागत घरले सुन्दरता दिएको छ । टिंकर प्राकृतिक रूपमा अत्यन्त सुन्दर छ । फुलेका मनमोहक फूल, घर नजिकै देखिने नाउर जस्ता वन्यजन्तु, अपि हिमाललगायत हिमशृङ्खला, सुदूरहिमाली जीवनशैलीले यहाँलाई विशेष बनाउँछ । सौका समुदायले आफ्नै भाषा ‘रङ्ग’ बोल्छन् ।