काठमाडौं, भदौ २२ :

स्वास्थ्य बिमा बोर्डले बाढी प्रभावित जिल्लाहरुमा बिमा सेवामा सहजीकरण गर्ने भएको छ ।

बोर्डले आज विज्ञप्ती जारी गर्दै यही भदौ १० गते भोटेकोशीमा गएको बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङमा  सहज रुपमा बीमा सेवा दिइने जनाएको छ । बोर्डले ती जिल्लामा स्वास्थ्य बीमा सेवा सहज रूपमा सञ्चालन गरी नागरिकलाई सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य बिमा सेवा प्रदायक स्वास्थ्य संस्थामा तोकिएको समयावधिसम्म स्वास्थ्य बिमा सेवामा लाग्ने सहभुक्तानी (को–पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको हो । क्यापिङ भन्नाले कुनै निश्चित सेवा तथा उपचारमा बिमाले दिने रकमको अधिकतम सीमा बुझिन्छ ।

बोर्डका अनुसार उक्त क्षेत्रमा बिमितको स्वास्थ्य बिमा परिचयपत्र नभएको अवस्थामा समेत सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपलब्ध गराइएको प्रणालीमार्फत स्वास्थ्य बिमा नम्बर यकिन गरी स्वास्थ्य बिमा सेवा उपलब्ध गराइनेछ । बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा पवनकुमार साहले स्वास्थ्य बिमा बोर्डको उक्त निर्णयसँगै रुसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज हुने बताए ।