.jpg)
सम्भवत: उपत्यकाभित्र मनाइने सबैभन्दा पुरानो जात्रामा बिस्का: पनि पर्दछ । यसलाई लिच्छविकालदेखि नै मनाइँदै आएको भन्ने मान्यता छ ।
वैशाख संक्रान्तिको अघिल्लो दिन यस पर्व मनाउन सुरु भएर नयाँ वर्षको दिन समाप्त हुने चलन छ । यो जात्राले पुरानो सालको बिदाइ र नयाँ सालको स्वागत एक साथ गर्ने गर्दछ ।
वैशाखमा हामी नयाँ वर्ष मनाउँछौं । तर सातौ शताब्दीमा महिनाहरुको सुरु भइसकेको थिएन तर राशिका नामहरु सुरु भइसकेको थियो । जसअनुसार मेष राशिबाट वर्षको सुरुवात हुन्थ्यो भने मीन राशिमा पुगेर वर्षको अन्त्य हुन्थ्यो । मेष राशिमा सूर्यले प्रवेश गर्ने यस दिनलाई विषुवत संक्रान्ति पनि भन्ने गरिन्छ । विषुवत दिनलाई अंग्रेजीमा (इक्युनोक्स डे) भनिन्छ । यस दिनमा दिन र रात बराबर हुन्थ्यो । तर अचेल हुँदैन ।
अंग्रेजी महिना मार्च २१ मा दिन र रात बराबर हुन्छ । तसर्थ चैतको ७-८ गते तिर नै विषुवत दिन हुने गर्दछ । तर हामी २५-२६ दिन पछि नयाँ वर्ष मनाइहेका छौ । यहाँ विज्ञहरु नै सूर्य विषुवत रेखामा प्रवेश गर्ने भएको हुँदा विषुवत संक्रान्ति भनिएको भन्ने प्रचार गर्ने गर्दछन् । हामीले बनाउँदै र हेर्दै आएको पात्रो तथा क्यालेन्डर सबै गलत छन् । पर्व सुधार समितीले यस सम्वन्धी जानकारी नेपाल सरकारलाई दिईए पनि सुधार गरिएको छैन ।
बिस्का: सम्बन्धी धेरै किंवदन्ती प्रचलित छन् । विभिन्न मल्ल राजाको समयमा विभिन्न कथा गाँसिएका छन् । काशी विश्वनाथलाई पनि बिस्केट जात्रासँग गाँसेको पाउँछौं । कुनै बेला विश्वनाथ बिस्काः हेर्न आउँदा तान्त्रिकले थाहा पाएर तान्त्रिक शक्तिले समाउन खोज्दा टाउको छुटाएर शरीर मात्र काशी फर्केको किंवदन्ती छ । नेपालमा छोडिएको शिरलाई नै यस जात्रामा रथ यात्रा गरेर मनाउने गरिन्छ ।
बिस्का:को मूल देवता नै विश्वनाथ भैरव हुन् । विश्वनाथ भैरव काशी विश्वनाथको शिर होइन, त्यतिबेला लिच्छविहरु तथा तान्त्रिकहरुका गुरु भैरव हुन् । त्यसैले बिस्का:मा भैरवीको रुपमा नकिंजु अजिमा, उनको बाहन वीर र वेताल, अष्टमातृका गणहरु भद्रकाली, दुमाजु देवी, वाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरी तथा छुमा गणेशको पूजा गर्ने गरिन्छ । यी सबै देवीदेवता तान्त्रिक शक्तिको लागि पूजा गरिने देवीदेवता हुन् । पूजामा तान्त्रिक रुपमा पञ्चतत्व मिश्रित सम्हेयबजी चढाउने गरिन्छ र प्रसादको रुपमा खाने गरिन्छ ।
नेवा: हरु भैरवलाई योम्हसिद्ध (मनपर्ने सिद्ध देवता) अर्थात योसिंह द्य भन्ने गर्दछन् भने भैरवकै अर्को रुप भीमसेनलाई भीँद्य (असल देवता)को रुपमा पूज्ने गर्दछन् । तसर्थ नेवा: बाहुल्य हुने हरेक शहरमा भीमसेन तथा भैरवको मन्दिर हुने गर्दछ । अझ बढि भैरवलाई बिशेष रुपले आस्था भक्तपुरका नेवा:हरुले गरेको पाउँछौ ।
बिस्का: सँगै नाग-नागिनीको कथा पनि गाँसिएको हामी पाउँछौ । लिच्छवि राजा शिवदेव द्वितीयको समयमा किराती आक्रमणबाट जोगाउन तान्त्रिक शेखर आचाजुले आफू बाघ भएर हजारौ अन्य बाघ पनि आफ्नै शक्तिले तैयार गरेर किरातीहरुलाई भगाएका थिए । पछि राजाले धुमधामले सिन्दूर जात्रा गरेर घर पठाउँदा तान्त्रिक शेखर आचाजुका श्रीमती नररुपाले श्रीमानको यो शक्तिको कुरा सुनेपछि श्रीमानसामु आफूले कहिल्यै अजिंगर नदेखेको हुँदा अजिंगरको स्वरुप देखाउन अनुरोध गरे । आचाजुले मन्त्र फुकेको चामल श्रीमतीलाई दिएर भने सुरुमा चामल छर्केर अजिंगर बनाउने र पछि फेरि अर्को चामल छर्केर मानिसको स्वरुपमा फर्काउन अह्राए । नररुपाले सुरुको चामल छर्के जसले गर्दा श्रीमान भयंकर अजिंगर बने । तर अजिंगरको स्वरुप देखेर तर्सिएका श्रीमती भागे । श्रीमान्, चामल नछर्कीकन भागेका श्रीमतीको पछि पछि लागे । यसले गर्दा झन तर्सिएका श्रीमतीको हातको चामल आफ्नो शरीरमा पर्न गयो । जसले गर्दा श्रीमती पनि अजिंगर बने । यसरी दुवै श्रीमान-श्रीमती अजिंगर बनेपछि राजा कहाँ पुगे । सायद राजाले थाहा पाएर मानिसको स्वरुपमा फर्कन मद्दत गर्ने आशामा रहेका आचाजु दम्पति राजाबाट पनि सहयोग नपाए पछि योसिंखेलको प्वालमा पसेर आत्महत्या गरे । यहि जोडी नागनागिनीको प्रतिक स्वरुप बिस्का: को रथमा लामो काठमा नागनागिनीको स्वरुपको रुपमा झुन्ड्याएर प्रदर्शन गर्ने जात्राको रुपमा बिस्का: चलेको भन्ने किंवदन्ती प्रख्यात छ ।
त्यस्तै अर्को किंवदन्तीअनुसार कुनै बेला राजाको छोरा नभए पछि राजकुमारीका लागि उपयुक्त राजकुमारसँग विवाह गराइ राजा बनाउन राजाले शहरबाट उपयुक्त राजकुमार खोजेर विवाह गराइदिए । तर विवाह भएर आएको पहिलो रात नै राजकुमारको मृत्यु हुने गर्दथ्यो । यसरी राजकुमारीसँग विवाह गर्न लालायित युवकहरु मृत्यु हुँदै जाँदा राजा पनि चिन्तित थिए । उता कुनै युवक पनि राजकुमारीसँग विवाह गर्न आएनन् । अन्तमा एक दिन सहरदेखि बाहिर बस्ने एक युवकले साहस गरेर राजकुमारीसँग विवाह गर्न इच्छा व्यक्त गरे । यो सुनेपछि सहरकै बाहिर बस्ने एक बूढीआमाले युवकलाई राजकुमारीसँग विवाह गर्ने युवकको मृत्यु हुने कारण गोप्य रुपमा जानकारी दिँदै विवाहपछि रातमा राजकुमारीको शयनकक्षमा जाँदा तरवार लुकाएर लिएर जान तथा गहिरो निद्रामा नसुत्न लगाए ।
वृद्ध आमाले युवकलाई भनेबमोजिम मध्य रातमा राजकुमारीको नाकबाट निस्किएको सानो किराले विकराल नागको रुप लिएर युवकलाई डस्न लागे । चनाखो भएर युवकले लुकाएर राखेको तरबार निकालेर नागलाई काटे । बिहान राजदरबारमा राजारानी एवं सबै युवक जिउँदो रहन्छ या रहन्न भन्ने चिन्तामा प्रतीक्षामा थिए ।
यसै समय ढोका खोलेर युवक जीवितै निस्किएपछि राजाले सहरभरी धुमधामले खुसीयाली मनाउने घोषणा गरे । यसरी राजकुमारीको नाकबाट निस्केर विवाह गरेर आउने राजकुमारको हत्या गर्ने सर्प मारिएको खुसीयालीमा मनाइएको जात्रा भएको हुँदा विइ अर्थात नाग वा सर्प तथा सिका अर्थात मरेको खुसीयालीमा मनाइने जात्रा भएको हुँदा यसलाई विसिका भनिएको हो । तर पछि अप्रभंश हुँदै बिस्काः भन्ने गरियो । अझ नेपालीकरण हुँदा बिस्केट भन्न थालियो ।