काठमाडौं, भदौ १९ :

रसुवा बाढीमा परी हालसम्म १२ सय ९४ जनाको निधन भएको पुष्टि भएको छ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै बाढीमा परी मृत्यु भएका १२ सय ९४ जनाको शव प्राप्त भएको जनाएको हो । 

बाढीमा परि ५ हजार ५३ जना बेपत्ता छन् भने हालसम्म १३ हजार ९५ जनाको उद्दार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । उनले रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा हाल ४,६२७ जना व्यक्तिहरू आश्रयमा रहेको जानकारी दिइन्।

बाढीका कारण ७,५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र प्रत्यक्ष रूपमा ३२,९३३ जनसंख्या प्रभावित भएको प्रारम्भीक आंकलन रहेको उनले बताइन् । त्यस्तै बाढीका कारण ४८ वटा सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्रवक्ता महतले बाढीका कारण ५५ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको ३७ मोटरेबल पुल र ६८ झोलुङ्गे पुलमा क्षति पुगेको जानकारी दिइन् ।

त्यस्तै १,८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७,६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने आकलन गरिएको प्राधिकरणले जानकारी दिएको छ । बाढीका कारण ३ जलविद्युत आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति हुँदा ७८३ मेगावाट विद्युत उत्पादन प्रभावित भएको समेत प्राधिकरणले जनाएको छ ।