काठमाडौं, भदौ १९ :

जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको भन्दै लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यसहित विभिन्न नेता–कार्यकर्तालाई कारबाही गरेको छ।

ललितपुरको बालकुमारीमा पार्टीका संरक्षक महन्थ ठाकुरको उपस्थितिमा तथा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा तीन दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, हेमा वेल्वासे (केसी), भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

पार्टीको नीति तथा निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा समेत सहभागी भएको आरोपमा उनीहरूलाई कारबाही गरिएको जसपा नेपालले जनाएको छ।

यस्तै, प्रदेश नं. १ बाट समानुपातिकतर्फ निर्वाचित प्रदेशसभा सदस्य निर्मला तावालाई पनि पार्टीको नीति तथा निर्देशनविपरीत कार्य गरेको भन्दै कारबाही गरिएको छ।

बैठकले गत प्रतिनिधिसभा निर्वाचनका क्रममा पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत कार्य गरेको भन्दै पार्टीबाट निर्वाचित दुई दर्जन स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्तालाई समेत कारबाहीस्वरूप निष्काशन गर्ने निर्णय गरेको छ।

जसपा नेपालले बैठकबाट ‘नेपालको वर्तमान राजनीतिक अवस्था र जसपा नेपालको रणनीतिक दिशा’ विषयक राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। साथै, केन्द्रीय समितिको बैठक आगामी असोज १३, १४ र १५ गते काठमाडौंमा आयोजना गर्ने निर्णयसमेत गरेको छ। बैठकका निर्णयबारे पार्टीका महासचिव झाद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ।

यसैबीच, जसपा नेपालले भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गरेको छ।पार्टीले बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गरेको जनाएको छ।