काठमाडौं, भदौ १८ :

हिन्दु धर्मशास्त्रअनुसार भगवान् श्रीकृष्णलाई भगवान् विष्णुको दशावतारमध्ये एक अवतार मानिन्छ। द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। आधुनिक भारतको मथुरा नगरीमा पिता वसुदेव र माता देवकीको गर्भबाट जन्मिएका श्रीकृष्णलाई संसारभरका हिन्दु धर्मावलम्बी तथा कृष्णभक्तहरूले श्रद्धापूर्वक स्मरण गर्दै हरेक वर्ष कृष्ण जन्माष्टमी मनाउने गर्छन्।

धार्मिक मान्यताअनुसार पृथ्वीमा अन्याय, अत्याचार, अधर्म र राक्षसी प्रवृत्ति बढ्दै गएपछि त्यसको अन्त्य गरी धर्मको स्थापना गर्न भगवान् विष्णुले कृष्णका रूपमा अवतार लिएका हुन्। त्यसैले श्रीकृष्णलाई धर्म, सत्य, न्याय, प्रेम, ज्ञान र कर्मका प्रतीकका रूपमा समेत लिइन्छ। श्रीकृष्णको जन्म भएको दिनलाई ‘कृष्ण जन्माष्टमी’ भनिन्छ। विभिन्न स्थान र परम्परामा यसलाई ‘गोकुलाष्टमी’, ‘सातम आठम’, ‘अष्टमी रोहिणी’, ‘श्रीकृष्ण जयन्ती’ वा ‘श्री जयन्ती’का नामले पनि चिनिन्छ।

जन्माष्टमी कसरी मनाइन्छ ?

हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन श्रीकृष्ण जन्माष्टमी मनाइन्छ। यस दिन भक्तजन बिहान सबेरै स्नान गरी शुद्ध भएर व्रत तथा उपवास बस्ने गर्छन्। कतिपय भक्तजन दिनभर जल वा फलफूल मात्र सेवन गरी सात्विक रूपमा बस्छन् भने कतिपयले पूर्ण निराहार व्रत गर्ने परम्परा पनि छ।

देशभरका कृष्ण मन्दिरमा विशेष पूजा–आराधना, प्रवचन, भजन–कीर्तन तथा धार्मिक कार्यक्रम आयोजना गरिन्छ। भक्तजनहरूले फूल, गोपीचन्दनलगायत सामग्री प्रयोग गरी कृष्णको शृङ्गार गर्छन्।

राति १२ बजे कृष्णको जन्म भएको मानिने भएकाले मध्यरातमा विशेष पूजा गरिन्छ। कृष्णको धातु वा अन्य प्रतिमालाई पञ्चामृतले स्नान गराई नयाँ वस्त्र तथा आभूषणले सजाइन्छ। त्यसपछि पूजा, आरती तथा प्रसाद वितरण गरिन्छ। आज संसारभरका कृष्णभक्तहरू मध्यरातमा ‘नन्द घर आनन्द भयो, जय कन्हैया लाल की’ भन्दै कृष्ण जन्मको उत्सव मनाउँछन्। मन्दिरहरूमा दीप प्रज्वलन हुन्छ, भजन–कीर्तन गुञ्जिन्छ र कृष्णको बालरूपलाई झुलामा राखेर पूजा गर्छन्।

श्रीकृष्णको पूजा आराधनाले सन्तान प्राप्ति, दीर्घायु, सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ। आफ्नो मनोकामना पूरा हुने आस्थाका साथ पनि भक्तजनहरूले कृष्णको पूजा गर्ने गर्छन्।

राधाकृष्णको पूजा प्रेम तथा दाम्पत्य सुखका लागि, बालकृष्णको पूजा सन्तान प्राप्तिको कामनाका लागि र बंशीवाला कृष्णको पूजा विभिन्न मनोकामना पूरा हुने विश्वासमा गर्ने परम्परा छ।

हातमा मुरली, शिरमा मयूरको प्वाँख, शीतल बगैंचामुनी, जीवजन्तुहरूको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधुर धुन यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्रीकृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार वर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ। हिन्दु पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ। कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाँही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन् ।

किन गरिन्छ त श्रीकृष्णको पूजा ?

किन गरिन्छ त श्रीकृष्णको पूजा ? श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने,  लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ। धर्म ग्रन्थअनुसार जुन व्यक्तिको चन्द्रमा कमजोर छ, उसले श्रीकृष्णको पूजा गरेमा उसलाई अधिका लाभ मिल्छ ।आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि वंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने  गर्ने गरिन्छ ।  श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ ।
 

जन्म र देहत्याग : एउटै जीवनकथाका दुई पाटा

श्रीकृष्णको जन्मको साथै स्वर्गारोहण पनि स्मरणीय छ सायद यी कुराहरू केहीलाई मात्रै थाहा हुन सक्छ । केही खोजको सिलसिलामा सुब्बा होमनाथ केदारनाथ कृत ‘सुकसागर’मा पनि कृष्णको देहत्यागसँग सम्बन्धित यिनै धार्मिक प्रसङ्गहरू वर्णन गरिएको पाइन्छ।

कृष्णको मृत्यु महाभारतको युद्ध पश्चात भगवान कृष्णले द्वापरयुगमा पापीहरूको अन्त्य गरेका थिए । जतीबेला यो पृथ्वीमा पापीहरू धेरै हुन्छन् त्यो बेला भगवान विष्णु कुनै न कुनै रूपमा अवतरीत भएर पापको नास गरेर धर्मको उद्धार गर्छन् भन्ने हिन्दू मान्यता रहेको छ । यसरी महाभारतको युद्ध गराएर भगवान कृष्णले संसारका पापीहरूको त नास गरे तर असङ्ख्यको रूपमा वृद्धि भएको  देखेर यसलाई पनि नास गराउने उनको इच्छा थियो । महाभारतको युद्धको कारण कृष्ण भएकोले कौरवहरूकी माता गान्धारीले कृष्णलाई जसरी तिमीले गुरुकुलको नास गरायौ त्यसरी तिम्रो कुलको पनि आपसमा लडेर नास हवस् भनेर श्राप दिएकी थिइन् । गान्धारीको श्रापको प्रभाव र भगवान कृष्णको इच्छा  भएकोले एक दिन याद्वपहरू जंगलमा सिकार गर्न गएको बेला दुर्वाशा ऋषिको आश्रममा पुगे । गान्धारीको श्राप र कृष्णको इच्छाका कारण धर्मात्मा याद्वपहरूको बुद्धि भ्रष्ट भएको थियो । त्यसैले उनीहरूले दुर्वाशा ऋषीको तपस्याको परीक्षा लिने विचार गरे । 

याद्वपहरूले कृष्णका छोरा शाम्बलाई महिलाको पहिरन गराएर दुर्वशा ऋषिको अगाडि गएर यी महिला गर्भवती छन् यीनको गर्भबाट छोरा जन्मन्छ की छोरी जन्मिन्छे भनेर सोधे । दुर्वाशा ऋषी स्वभावमा निकै रिसालु थिए । याद्वपहरूले यसरी आफ्नो अपमान गर्न खोजेका थाह पाएर उनले यी महिलाको गर्भबाट याद्वपकुलको नास गर्ने एक मुशल पैदा हुनेछ भने । नभन्दै शाम्बको कपडा खोलेर हेर्दा त्यसबाट एक फलामको मुशल निस्कियो । यो देखेर याद्वपहरू निकै डराएर घर फर्के । जंगलमा भएको सबै घटना सुनेपछि कृष्णले मुशल ढुङ्गामा घिसेर त्यसको धुलो समुन्द्रमा फाल्न लगाए । याद्वपहरूले मुशललाई ढुङ्गामा रगड्दै धुलो समुद्रमा बगाउँदै गरे ।

अन्तमा मुशलको एक टुक्रा धेरै सानो भएकोले त्यो टुक्रा रगड्न कठिन भयो । याद्वपहरूले त्यो टुक्रालाई त्यत्तिकै समुद्रमा बगाए । मुशलको धुलो समुद्रमा बगाएकोले समुद्रको किनारा भरी धारीलो पात भएको झार उम्रियो । मुशलको जुन टुक्रा त्यत्तिकै फालिएको थियो त्यो टुक्रा एक माछाले खायो । त्यो माछालाई माझीले समातेर ‘जरा’ नामको व्याधालाई बेचे । व्याधाले माछा काटेर हेर्दा माछाको पेटमा फलामको टुक्रा देख्यो । त्यो फलामको टुक्रालाई ‘जरा’ नामको त्यो व्याधाले बाण बनायो । यसै क्रममा एक दिन याद्वपहरूले समुद्रमा स्नान गर्ने र दान गर्ने निर्णय गरे । महिला र बालकहरूलाई घरैमा छोडेर सबै याद्वपहरू समुद्र किनारामा जम्मा भए । स्नान दान पछि याद्वपहरूमा कुनै अनर्थको कुरामा विवाद हुन थाल्यो । यसरी विवाद बढ्दै जाँदा उनीहरू आपसमा लड्न थाले । लड्दा लड्दै उनीहरूका हतियार भाँचिए । हतियार नभएकोले उनीहरूले मुशलको धुलोबाट उम्रेको झार उखेल्दै एक अर्कालाई हान्न थाले ।

जसलाई त्यो झारको चोट लाग्थ्यो त्यो तुरुन्त मर्थ्यो । यसरी आपसमा लडेर सबै याद्वपहरू सिद्धिए । याद्वपकुलको नास भयो भन्ने खुसीले कृष्ण एक पिपलको छायाँमा विश्राम गर्न थाले । ‘जरा’नामको व्याधाले टाढैबाट कृष्णको खुट्टा देख्यो । व्याधाले मृगको टाउको सोचेर कृष्णको खुट्टामा बाण प्रहार गर्यो । त्यो बाण माछाको पेटमा भेटिएको मुशलको टुक्राबाट बनेको हुनाले कृष्णको मृत्यु त्यसै बाणबाट भयो । यसरी भगवान कृष्णले मानव देह त्याग गरेर चतुर्बाहुको रुप धरेर बसे । जरा व्याधा मृग मर्यो भनेर खुसी हुँदै कृष्णको देह भएको ठाउँमा पुग्यो । त्यहाँ उसले भगवान कृष्णको खुट्टामा आफ्नो बाण लागेको देखेर कृष्णको खुट्टामा परेर माफी माग्यो । यो देखेर कृष्णले जरालाई "म राम हुँदा त बालीपुत्र अङ्गद थिइस् । मैले छल गरेर तेरो बाबुलाई मारेको थिएँ तैपनि तैँले मलाई रावणसँगको युद्धमा धेरै सघाइस् । रावणको मृत्यु पश्चात मैले तँलाई इच्छा अनुसारको वर माग्न भनेपछी तैँले बाबाको बध गर्ने तिर भएर लडेको भनेर मलाई लोकले अपहेलना गर्ने छन् । त्यसैले रामको मृत्यु मेरो हातबाट हवस् भनेर वर मागेको थिइस् । त्यो बेला मैले तँलाई म कृष्ण भएको बेलामा मार्नु भनेको थिएँ । त्यै भएर तेरो बाणको प्रहारबाट म मरें यसमा तँलाई कुनै पाप लाग्दैन भने यसका साथै कृष्ण बैकुण्ठ गएर बसे ।

महाभारतमा श्रीकृष्ण एक महापुरुषको रूपमा चित्रित गरिएको छ । जसमा उनको मृत्युलाई मुसल पर्वमा बडो सुन्दर रूपमा व्याख्या गरिएको छ । यदुवंशीहरु अहंकारी र श्रीकृष्णलाई नटेर्ने भए पछि उनी दुखी भएर जंगलमा पीपलको वृक्षमुनि सुस्ताइरहेका थिए । जहां एक व्याधाले उनलाई हरिण जस्तो ठानेर झक्किएर हत्या गरिदियो । महाभारतको कथा अनुसार गान्धारीको शाप तथा ऋषि दुर्वासा प्रति स्वयं कृष्णका सबभन्दा प्रिय पुत्रहरूमध्ये एक साम्बले गरेको दुव्र्ययवहार स्वरुप यो घटना भएको हो । यसरी १२० वर्षको उमेरमा श्रीकृष्णको देहान्त भएको धर्मशास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।