
नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उनले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताए।
विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद देशमा पूर्वाधार, विद्युत्, सञ्चार, स्वास्थ्य र वित्तीय क्षेत्रमा प्रगति भएको उल्लेख गर्दै नेता आङ्देम्बेले ‘केही पनि भएन’ भन्ने निराशावादी धारणा यथार्थमा आधारित नभएको तर्क गरे।
उनले विभिन्न लोकतान्त्रिक आन्दोलनदेखि पछिल्लो जेनजी विद्रोहसम्म ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब देशमा पुनः हिंसा दोहोरिन नदिन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए । नेता आङ्देम्बेले २०४६ सालको जनआन्दोलन, सशस्त्र द्वन्द्व, २०६२-६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायतका सङ्घर्ष स्मरण गर्दै फरक विचार भए पनि सबै एउटै राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।
उनले संसदीय लोकतान्त्रिक प्रणालीलाई नेपालको साझा मार्गका रूपमा व्याख्या गर्दै बिपी कोइरालाले प्रस्ताव गरेको यो प्रणालीप्रति सबै राजनीतिक शक्ति पुनः प्रतिबद्ध भएको उल्लेख गरे। नेता आङ्देम्बेले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
उनले गत भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै संसद् भवन र सिंहदरबारमा भएको क्षतिको यथार्थ सार्वजनिक गर्नुपर्ने बताए । दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्नुपर्ने नेता आङ्देम्बेको भनाइ थियो ।
उनले नयाँ सरकारलाई संविधान र जनअपेक्षाविपरीत काम भए प्रतिपक्षले सशक्त रूपमा खबरदारी गर्ने उल्लेख गरे । यसैबीच, उनले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारकर्मीप्रति निर्वाचन सम्पन्न गर्न योगदान पु¥याएकामा आभार व्यक्त गरे।
नेता आङ्देम्बेले बुँदागत रुपमा यसो भने :
गाउँमा आएको बाटो २०४६ को परिवर्तनपछि आएको हो कि होइन ?
टुकी र दियालोमा बाँच्न अभिशप्त जिन्दगी र घरहरूमा आज बलेको बिजुली यही अवधिमा जोडिएको हो कि होइन ?
हिजोभन्दा आज धेरै गाउँमा, धेरैका आँगनमा पुगेको खानेपानीको सुविधा यही अवधिमा निर्माण गरिएका परियोजना र जोडिएका धाराबाट आएको हो कि होइन ?
गाउँमा दुःखसुख खुलेका स्वास्थ्य चौकी अनि बिमाको नीति के यही अवधिमा सुरु भएको होइन र ?
दुर्गम गाउँको पनि हातहातमा पुगेको सञ्चार सुविधा यो देशमा केही पनि नभएको उदाहरण हो कि केही सुरुवात भएको नमुना हो ?
बैङ्क, वित्तीय संस्थाहरू, एयरलाइन्सहरू, सञ्चारमाध्यमहरू लगायत निजी क्षेत्रको यत्रो विस्तार के यही अवधिमा देशले गरेको एउटा प्रगति होइन र ?
हो, योभन्दा बढी हुन सक्थ्यो, हुनुपर्थ्यो। तर एकातिर अनेक प्रतिकूलताका कारण हुन सकेन, अर्कातिर हाम्रा शासकीय कमजोरीका कारण हुन सकेन। यसप्रति हामी आत्मालोचित छौँ। तर जे भए, ती सबै हामी सबैका प्रयासले भए। अर्थात्, 'केही पनि भएन' भन्ने निराशा सत्यको जगमा उभिएको छैन। हामीले भएका कुरा नागरिकलाई बुझाएर, गर्न बाँकी धेरै कामहरू पूरा गर्ने सङ्कल्प गर्नु छ। यो संसद्ले त्यो यात्रामा नागरिकलाई विश्वासमा लिएर अघि जानु छ।
भदौ २३ र २४ को घटनालाई एकएक केलाउन जरुरी
आज हामी जहाँ यो बैठक बसिरहेका छौँ, यो हाम्रो संसद् भवन होइन। हाम्रो संसद् भवन भदौ २४ गते खरानी भयो। यो बेला त्यो खरानीलाई सम्झौँ, अनि सङ्कल्प गरौँ— हामी यसरी काम गरौँ ताकि भविष्यमा यो देशलाई खरानी बनाउन कोही अघि नसरून्।
किन खरानी भयो संसद् भवन ? किन जल्यो सिंहदरबार ? किन ध्वस्त बनाइए अनेकौँ भौतिक संरचना ? म सभामुख महोदयमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु— भदौ २३ र २४ दुवै दिनका घटनालाई एकएक केलाउन जरुरी छ।
कसैले २३ गतेको घटना देख्ने २४ को नदेख्ने, कसैले २४ को ध्वंस देख्ने २३ को दमन नदेख्ने ! यो प्रवृत्ति एकदम गलत छ। हुँदाहुँदा सरकारले बनाएको जाँचबुझ आयोगले समेत २३ गतेको घटनाको अनुसन्धान गर्यो, कारबाहीको सिफारिस गर्यो; तर २४ को घटनाको अनुसन्धान गर्न भ्याइएन भन्यो। यो कस्तो तरिका हो ? पटकपटक समय थप्ने, तर समय पुगेन भन्ने यो कर्म जाँचबुझ आयोगमा रहेका व्यक्तिहरूबाट नियतवश भएको होइन भनेर भन्न मिल्ने देखिन्न।
नयाँ प्रधानमन्त्रीज्यूलाई म ध्यानाकर्षण गराउन चाहन्छु— जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले पनि गोरखापत्रमा पढ्ने ? म आग्रह गर्न चाहन्छु, सरकारले सुझबुझपूर्ण ढङ्गले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस 'दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुन्न' भन्ने मान्यता विगतदेखि नै बोक्दै आएको छ। यो मान्यतामा हामी आज पनि प्रस्ट र दृढ छौँ।