काठमाडौं, जेठ २५ :

प्रतिनिधिसभाको आजको बैठक पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले बैठक सञ्चालन भएको घोषणा गर्नेबित्तिकै विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको र तत्काल राजीनामासहित उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै विरोध जनाए । बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए । तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे ।

विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका हुन् ।

आजको बैठकमा पनि विपक्षीले उठेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले भोलि (सोमबार) दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना पढेर सुनाए ।

वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन् । सभामुख घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए । तर छलफलले सदनको गतिरोध अन्त्य हुन सकेको छैन ।