
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ९७ नयाँ कर्मचारीलाई पूर्वसेवाकालीन तालिम दिइरहेको छ ।
लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट कोसी, मधेस र बागमती प्रदेशका लागि प्रदेशगत रुपमा छनोट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९५ जना र वरिष्ठ सहायक स्तरका दुईजना गरी जम्मा ९७ कर्मचारीलाई १४ दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको हो ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले यस बैंकप्रति जनताको अत्यन्तै विश्वास रहेको र त्यस विश्वासलाई जोगाइराख्न फ्रन्टलाइनमा बस्ने कर्मचारीहरुले सदैव जिम्मेवार भएर सेवा दिनुपर्ने बताए । उनले विभिन्न प्रक्रिया पश्चात बैंकले युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै बैंकिङ क्षेत्रमा भएको बढ्दो जोखिमलाई न्यूनीकरण गरी कार्य गर्नुपर्ने बताए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक तथा वरिष्ठ सहायक ९७ कर्मचारीलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराएका थिए ।
कार्यक्रम मानव संसाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु विनयरमण पौडेल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्यालक्ष्मी जीसीलगायत कर्मचारीहरुको उपस्थिति थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ शाखा कार्यालय, ७२ एक्स्टेन्सन काउन्टर, ३१२ वटा एटीएम र ९९ वटा शाखारहित सेवा सञ्चालनमा छ ।