पुस २८ :

केही वर्षपहिले सन्तोष साहले बेलायतमा सेफको ‘उपविजेता’ भएपछि नेपाल आएर बडो सम्मान पाए । हामीले उनको सफलतामा गर्व गर्‍यौं । तर साहलाई विदेशीहरूले ‘क्याबात’ भनेपछि मात्र सम्मान दियौँ । साहले जस्तै गरेर पकाउने हाम्रा घरका मान्छे (आमा, बज्यै, दिदी, फुपू, छोरी) हरूले पकाएका खानालाई भने अवहेलना गर्छौं ।

सन्तोष साहले नेपाली नामले विदेशमा भएका परिकार नै पकाएर ख्वाएपछि त्यो नाम अंग्रेजीमा खोजी भयो तर हामीचाहिँ कुनै खाना अंग्रेजीमा भनेपछि ‘वाह... क्या राम्रो’ भनिहाल्छौं । अहिले हामी घरमा अतिथि बोलाउँदा बाहिरबाट स्वास्थ्य खराब पार्ने पिज्जा र केक ल्याएर ख्वाउँछौं । घरमा पकाएको दाल, भात, तरकारी, रोटी, अचार, साग दिन हामीलाई लाज लाग्छ । त्यसैगरी पाहुनालाई मोही, कागती र बाबरीको सर्वत दिन हिच्किचाउँछौं । तर पाहुनालाई ‘स्वास्थ्य खराब पार्ने गुलियो पेय पदार्थ भने मनग्य ख्वाउँछौं ।

हामी पाहुनालाई बदाम दिन लाज मान्छौं तर पिनटको ‘प्याकेट’ दिन भने गर्व गर्छौं । चना भुटेर पाहुनालाई दिन हिच्किचाउने हामी प्याकेटमा रहेको नुन हालेको ‘ग्रिनपिज’ भने दिन्छौं । दूध खाए मुटुमा बोसो लाग्छ र मुटुको रोग लाग्छ भनेर कुनै विदेशकाले भनेपछि हामी गाईको दूध छाडेर भटमासको दूध खान्छौं ।

खाना खाँदाखेरी कति-कति पोषण तत्त्व शरीरमा चाहिन्छ भनेर ‘वैज्ञानिक तरिकाले’ हाम्रा पुर्खालाई थाहा थिएन, उनीहरूले शुद्ध खाए । अहिले विदेशी वैज्ञानिकले भनेपछि हामी अनेक शुद्ध पोषक तत्त्वबारे कुरा त गर्छौं तर हजारौँ वर्षदेखि हाम्रा पुर्खाले यसबारेमा ज्ञान दिएका थिए भनेर हामी बिर्सन्छौं ।

लेखक : डा. अरुणा उप्रेती

स्वास्थ्यलाई संरक्षण गर्न पसलको चक्की खाने बानीले दिक्क लागेको छ । यसरी चक्की किन्दा हामी के बिर्सन्छौं भने यी सब कुरा हाम्रो भान्सामा सजिलैसँग पाइन्छ । विदेशीले ‘क्यालोरिफाइड बटर’ खाए राम्रो हुन्छ भनेपछि हामीले आँखा चिम्लेर मान्यौं । धेरैले ‘बटर’ ल्याएर खायौं तर त्यो महँगो ‘बटर’ हाम्रो घरमा नै पाइने घिउको एक रूप हो भनेर हामीले बिर्सियौं । घरमा सजिलै पाइने ‘बाबरी’ को पातलाई वास्ता नगर्ने हामीहरू ‘मिन्ट वाटर’ भनेर बोतलमा आएपछि महँगोमा किन्दाचाहिँ दंग पर्‍यौं ।

विदेशीको नक्कल गरेर हामीलाई खानेकुराभन्दा प्रोटिन, कार्बोहाइड्रेट, लौह तत्त्व, क्याल्सियम आदिको मात्राबारे बढी बुझ्यौं । ‘खानालाई सम्पूर्णतामा खानुपर्छ’ भन्ने कहिल्यै सिकेनौं ।

हामी फर्सीको तरकारी मन अमिलो पारेर खान्छौं । ‘पम्पकिन सुप’ भने आनन्द मानेर खान्छौं । पम्पकिन र फर्सी एउटै हो भन्ने थाहा भएको भए कुरा नै अर्को हुने थियो । थाहा नपाउनेले सोयाबिनचाहिँ वाह भनेर खान्छन्, भटमास वास्ता गर्दैनन् । भुटेको भात छ्या हुन्छ तर होटेलमा ‘फ्राइड राइस’ बढी पैसा तिर्दा आनन्द लाग्छ । किन हामीलाई भोजनमा पनि अंग्रेजी मोह ? अंग्रेजी भाषामा भनिएका खाना राम्रो, नेपाली भाषाका परिकारभन्दा नराम्रो भन्ने मानसिकताले जरो गाडेको छ ।

अहिले रैथाने ज्ञानको खोजी गरेर हजुरआमाहरूको ज्ञानको आदर गर्दैनौं । छलफल गर्दैनौं । रैथाने ज्ञान र मौलिक भोजनलाई बेवास्ता गरेर विकास हुन सक्दैन ।

हामी मालपुवा, सेल र जेरीको सट्टा केक किन्छौँ । कोदोको रोटीको सट्टा प्यान केक खान्छौँ । भान्साको खानेकुराले कुपोषण कम हुन्छ भन्ने विचारलाई अवहेलना गर्छौं ।

केही दिनअघि गाउँमा जाँदा बाटो बाटोमा आफैँ फलेको कर्कलो टिपेर घरमा ल्याएर सुकाएपछि गुन्द्रुक र मस्यौरा बनाएर फलामको भाँडामा पकाएर अमिलो गोलभेँडाको अचार र भात खाएँ । यसले शरीरमा लौहतत्त्व पनि दियो । यो ज्ञान यदि गाउँघरमा बाँड्न सकिए त सायद महिला र बालबालिकालाई रक्तअल्पताबाट बच्न मद्दत हुने थियो ।

चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा खाइने कर्कलो/पिँडालु पनि प्रयोग गरिन्छ । नेपालमा भने कर्कलो र पिँडालु खाने केही विशेष दिन भए पनि प्रायः अरूबेला हेला नै गरिन्छ । सायद कर्कलो र पिँडालु यति अपहेलित भएको कारण जताततै पाइने भएर होला ।

दाल-भातका कुरा

स्वस्थ व्यक्तिहरूलाई स्वादका साथै रोगसँग लड्ने शक्ति दिने कर्कलो त विभिन्न तरिकाले प्रयोग गरेकै बेस हुन्छ । सस्तो भन्दैमा हेप्नु पर्दैन । बाहिरको प्याकेटका कुहिएका खानेकुराभन्दा त कर्कलो र पिँडालुको तरकारी प्रयोग गरे स्वस्थ भइन्छ भनेर कसले सिकाइदिनु ?

अंग्रेजीमा ‘अमरान्थ’ भनिने र सुपर फुड भनिने लट्टेको सागको तरकारी पाहुनालाई ख्वाउँदा उनीहरूले अपमानित महसुस गर्न सक्छन् तर जब त्यही लट्टेचाहिँ अंग्रेजी नाम दिएर ठुलो होटेलमा बेच्दा वाह, क्या गजब मानिन्छ । भान्सामा पाइने यस्ता भोजनबारे मन्थन गर्ने हो कि ?

-डा. उप्रेती पोषणविद् हुन् ।