काठमाडौं, कात्तिक २२ :
लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकासहित देशभर झिलिमिली र झकिझकाउ बनेको छ। घर, सडक र बजारमा सजाइएका रंगीचंगी बत्तीले उपत्यकालाई मनमोहक बनाएको छ। तिहारको सबैभन्दा बढी विद्युत् खपत हुने दिनका रूपमा रहेको लक्ष्मीपूजामा यस वर्ष विद्युत्को अधिकतम माग १ हजार ८१३ मेगावाट पुगेको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबार साँझ ६ः१५ बजे विद्युत्को पिक लोड उक्त बिन्दुमा पुगेको हो। यस वर्ष स्वदेशी उत्पादनबाटै आन्तरिक माग पूरा गरी ५८७ मेगावाट विद्युत् निर्यातसमेत गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आइतबार देशभर कुल २ हजार ४०० मेगावाट विद्युत् उत्पादन भएको थियो। लक्ष्मीपूजाका दिन घरघरमा बत्ती बाल्ने, दीप प्रज्वलन गर्ने र घर सजाउने चलनका कारण अन्य दिनको तुलनामा विद्युत्को माग उच्च हुने गर्छ।