नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी आइतबार नेपाल प्रहरीको साइबर ब्युरोमा उपस्थित भए। आफूविरुद्ध परेको उजुरीका आधारमा ब्युरोले उपस्थित हुन ताकेता गरेपछि उनी आइतबार दिउँसो कार्यालय पुगेका हुन्।
साइबर ब्युरो प्रवेश गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शिवाकोटीले सरकारको दबाबमा परेर प्रहरीले आफूलाई ताकेता गरेको र अनुसन्धान अघि बढाएको आरोप लगाए।
सत्तारुढ दल तथा प्रधानमन्त्री बालेननिकट व्यक्तिहरूले कांग्रेस र पार्टी नेतृत्वमाथि निरन्तर प्रहार गरिरहेको भन्दै आफूले त्यसको प्रतिक्रिया मात्रै दिएको उनको भनाइ थियो। त्यही विषयलाई लिएर साइबर ब्युरोले आफूलाई बोलाएको हुन सक्ने उनले बताए।
शिवाकोटीले प्रधानमन्त्रीले विगतमा ‘सिंहदरबार जलाइदिन्छु’ भन्दा त्यसलाई अभिव्यक्ति स्वतन्त्रताका रूपमा लिइएको तर अहिले प्रधानमन्त्रीकै सल्लाहकार र निकट व्यक्तिहरूले प्रतिपक्षीको आवाज रोक्न खोजेको आरोपसमेत लगाए।
उनले प्रतिपक्षी दलका नेताहरूको अभिव्यक्तिलाई नियन्त्रण गर्ने प्रयास भइरहेको भन्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएका छन्।