कागेश्वरी मनोहरा नगरपालिकाले नापी तथा नक्साङ्कन कार्यलाई थप वैज्ञानिक, व्यवस्थित, सटीक र प्रविधिमैत्री बनाउने उद्देश्यले डीजीपीएस (डिफरेन्सियल ग्लोबल पोजिसनिङ सिस्टम) नियन्त्रण बिन्दु स्थापना प्रक्रिया अघि बढाएको छ।
नगरपालिकाभित्र जग्गाको नापजाँच, कित्ताको सिमाङ्कन तथा भौगोलिक सूचना व्यवस्थापनलाई थप विश्वसनीय र पारदर्शी बनाउने लक्ष्यसहित डीजीपीएस नियन्त्रण बिन्दु स्थापनाका लागि सम्भावित स्थानहरूको पहिचान तथा स्थलगत निरीक्षण सुरु गरिएको हो।
नगर प्रमुख उपेन्द्र कार्कीका अनुसार नापी शाखा प्रमुख इन्जिनियर अशोककुमार सिंहको योजना तथा समन्वयमा प्राविधिक टोली स्थलगत अध्ययनमा खटिएको छ। टोलीमा सर्वेक्षक अभिषेक भट्ट र अमिन सबुज खड्का सहभागी छन्। टोलीले नगरपालिकाभित्रका विभिन्न स्थानको भौगोलिक अवस्था र प्राविधिक उपयुक्तताको सूक्ष्म अध्ययन गरिरहेको नगर प्रमुख कार्कीले जानकारी दिए।
आधुनिक डीजीपीएस प्रविधिको प्रयोगबाट आगामी दिनमा जग्गाको नापजाँच, कित्ताको सिमाङ्कन तथा नक्साङ्कन कार्यलाई अझ सहज, छिटो, प्रभावकारी र विश्वसनीय बनाउन सहयोग पुग्ने नगर प्रमुख कार्कीको विश्वास छ। सुशासन, पारदर्शिता र प्रविधिको अधिकतम उपयोगमार्फत समुन्नत नगरपालिका निर्माण गर्ने अभियानअन्तर्गत यो पहल अघि बढाइएको नगरपालिकाको नापी शाखाले जनाएको छ।
यसैबीच, कागेश्वरी मनोहरा नगरपालिकाले सञ्चालनमा ल्याएको भू–सेवा पनि प्रभावकारी बन्दै गएको छ। भू–सेवा सुरु गर्ने देशकै पहिलो स्थानीय तहका रूपमा पहिचान बनाएको नगरपालिकाको अभ्यासलाई पछ्याउँदै पछिल्लो समय अन्य स्थानीय तहले समेत यस्तै सेवा सञ्चालन गर्न थालेका छन्।
भू–सेवा सञ्चालनमा आएपछि कर्मचारी तथा सेवाग्राही दुवैलाई सेवा प्रवाहमा सहजता भएको छ। लिखत, नापी तथा मालपोतसम्बन्धी सेवा एउटै स्थानबाट प्राप्त हुने व्यवस्था भएपछि सेवाग्राहीको समय, खर्च र प्रशासनिक झन्झटमा उल्लेख्य कमी आएको सेवाग्राहीहरूको अनुभव छ।
भू–सेवामार्फत सेवा प्रवाहलाई एकीकृत र सहज बनाएको नगरपालिकाले अब डीजीपीएस नियन्त्रण बिन्दु स्थापनाको पहलसमेत अघि बढाएसँगै जग्गा प्रशासन, नापजाँच र भौगोलिक सूचना व्यवस्थापन थप आधुनिक तथा प्रविधिमा आधारित हुनेछ ।