काठमाडौं, असोज ५ :

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाका लागि नेपाल सरकारले पहल गरिरहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री पोखरेलले फिफाले २४ जुन २०२६ मा एन्फालाई अर्को सूचना नभएसम्म निलम्बन गरेको उल्लेख गर्दै निलम्बन फुकुवाका लागि उच्चस्तरीय पहल भइरहेको बताएका हुन् ।

निर्देशन पालना नगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया अगाडि बढाएपछि राखेपले पटक–पटक सचेत गराएको र अटेरीपछि परिषद्को २०८२ चैत ११ गतेको निर्णयानुसार ऐनको दफा २९ (२) बमोजिम एन्फालाई निलम्बन गरिएको उनले बताए । पछि एन्फाबाट परेको निवेदनउपर कारबाही गर्दै २०८३ जेठ १ गते सो निलम्बन फुकुवा गरिएको उनले जानकारी दिए ।

राखेपले राष्ट्रिय खेलकुद विकास ऐन अनुसार दिएको निर्देशनलाई फिफाले ‘तेस्रो पक्षको हस्तक्षेप’  ठहर गरेको र यसैका आधारमा फिफाले आफ्नो विधान बमोजिम सूचना नभएसम्मका लागि एन्फालाई निलम्बन गरेको जानकारी गराएको उनले बताए ।  

त्यस्तै, मन्त्री पोखरेलले नेपाल–चीन मैत्रीपूर्ण खेलका क्रममा घाइते भई थाइल्याण्डमा उपचाररत आशिष राईलाई राखेपको स्वीकृत बजेटको सीमाभित्र रहेर उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको पनि जानकारी दिए ।