
भोटेकोशी बाढीबाट प्रभावितलाई सरकारले विद्युत् सेवामा तत्काल सहुलियत दिने भएको छ । बाढीका कारण घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटर सम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बाढीबाट क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योग लगायत ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिने र भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ समेत नगर्ने निर्णय गरेको छ । विपद्का बेला प्रभावित नागरिकलाई राज्यका तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको मन्त्री श्रेष्ठले बताए ।
बाढीबाट प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुन: सञ्चालन क्रममा रहेको छ । ती क्षेत्रका प्रभावित ग्राहकलाई महसुलमा कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ।