काठमाडौं, भदौ १९ :

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेताहरु पुग्ने क्रम जारी रहेको छ । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित रसुवा पुगेका छन् भने  नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि बाढी प्रभावित क्षेत्र विदुर पुगेका छन् ।

उनीहरु भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिबारे जानकारी लिन शुक्रबार बिहान रसुवा पुगेका हुन् । सभापति थापा विज्ञहरूसहित रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३, घिचेत पुगेका सचिवालयले जनाएको छ । यसअघि उनी १५ भदौमा बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका–३ पुगेका थिए ।

यस्तै एमालेका अध्यक्ष ओली स्वयंसेवक (भोलेन्टियर) टोलीसहित बिदुर नगरपालिका–५ अन्तर्गत पर्ने बटार, ढुङ्गे लगायतका बाढीबाट प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि पुगेका छन्। सरकारी कोषमा रकम जम्मा गर्नु भन्दा तत्काल पीडितको हातमा राहत पुर्याउनु पर्ने भन्दै आएका ओलीले पीडितसँग पनि कुराकानी गर्ने बताइएको छ ।

भदौ १० गते बुधबार बिहान चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा ठूलो भौतिक तथा मानवीय क्षति पुर्‍याएको छ ।