
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले कीर्तिपुरस्थित होल्डिङ सेन्टर खाली गर्न भन्दै सूचना जारी गरेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित परिवारहरूमा त्रास र अन्योल बढेको छ।
होल्डिङ सेन्टरमा टाँसिएको सूचनामा पाँच दिनभित्र स्थान खाली गर्न भनिएको उल्लेख भएपछि अब कहाँ जाने भन्ने चिन्ता त्यहाँ बसोबास गरिरहेका परिवारहरूमा छाएको छ।
तर समितिका सूचना अधिकारी टोपबहादुर बानियाले सूचनालाई लिएर फैलिएको भ्रमप्रति स्पष्टिकरण दिएका छन्। उनले सूचनामा उल्लेख भएअनुसार जेठ १२ गतेभित्र अनिवार्य रूपमा होल्डिङ सेन्टर खाली गर्न नभनिएको बताए।
उनका अनुसार सरकारले उपलब्ध गराउने भनिएको प्रतिपरिवार २५ हजार रुपैयाँ वितरणका लागि आवश्यक निवेदन संकलन गर्न सूचना जारी गरिएको हो। लाभग्राहीहरूले बस्नका लागि कोठा व्यवस्थापन गरेपछि उक्त रकम उपलब्ध गराइने उनले बताए।
काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका विभिन्न जोखिमयुक्त बस्ती हटाइएपछि त्यहाँबाट विस्थापित भएका परिवारहरूलाई कीर्तिपुर, रानीवन, काभ्रे र भक्तपुरका होल्डिङ सेन्टरमा राखिएको छ। केही परिवारलाई भने होटलमा समेत व्यवस्थापन गरिएको छ।
कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका परिवारहरूको व्यवस्थापनको जिम्मा काठमाडौँ महानगरपालिकाले लिएको छ। यद्यपि उनीहरूको दैनिक खानपानको व्यवस्था भने शान्ति सेवा नामक संस्थाले गर्दै आएको छ।