काठमाडौं, जेठ ८ :

संघीय संसद्अन्तर्गत आज एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् ।

विभिन्न समितिहरूले बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार, सामाजिक सुरक्षा लगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयमा उपसमितिहरूले सुझाव पेश गर्ने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपालका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी तथा थुनुवाको मानव अधिकार अवस्थाबारे गृह मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।

यसैगरी पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजे बस्दैछ । सो बैठकमा मध्यपूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको प्रभावबारे छलफल हुनेछ ।

यस्तै, बिहान ११ बजेलाई तोकिएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज २ बजे बस्दैछ । बैठकको कार्यसूची भने खुलाइएको छैन ।

महिला तथा सामाजिक मामिला समितिले नेपाल सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका सम्बन्धमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल गर्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषय तथा विपद् व्यवस्थापनसम्बन्धी सरकारी तयारीबारे छलफल हुने कार्यसूची छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे छलफल गर्नेछ । सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फर्छ्यौट सम्बन्धमा छलफल गरिनेछ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमाबारे अर्थमन्त्रीसँग छलफल गर्नेछ ।