काठमाडौं, जेठ ८ :

शृंगेरी शारदा पीठका परम पूज्य जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महास्वामीज्यू पहिलो पटक आज नेपाल आउदै हुनुहुन्छ। 

उहाँले आजदेखि १५ गतेसम्म नेपालको भ्रमण गर्नुहुनेछ ।

सो क्रममा उहाँको दर्शनका लागि सहभागी हुन अनुरोध गरिएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विशिष्ठ कक्षमा पन्चकन्या सहित स्वस्तिवाचनद्धारा स्वागत गरिनेछ । महास्वामीज्यूको स्वागतमा पन्चेबाजा धिमे बाजा विभिन्न झाँकीहरु सहिथ पुष्पवृष्टि गरिनेछ ।  

उहाको भ्रमणलाई सफल पार्न नेपाल सरकार ,पशुपतिनाथका मूल भट्टज्जू भट्टज्यूहरु र पशुपति  क्षेत्र  विकास कोष  ,नेपाल सन्त समाज ,विश्व ॐकार एकता महाभियान,विश्व हिन्दू महासघ ,भारतीय दुतावास लगायतले जगद्गुरुको स्वागत सत्कारको आवश्यक समन्वय गरिरहेको बुझिएको छ ।

जगद्गुरुले काठमाडौंस्थित पशुपतिनाथ मन्दिर, बत्तीसपुतलीस्थित राममन्दिर, बुढानीलकण्ठ, देवघाट , कागवेनी, मुक्तिनाथ मन्दिरको दर्शन  गर्नुहुने कार्यक्रम रहेको छ ।

करीब ६० बर्षपछि दक्षिणाम्नाय पीठबाट नेपालको यो भ्रमण तय भएको हो। जगद्गुरु शंकराचार्य श्री श्री विधुशेखर भारती महाराज, श्रृंगेरी मठका अनन्तश्री विभुषित पीठाधिश्वर जगद्गुरु शंकराचार्य श्री श्री भारती तीर्थ महास्वामी ज्यूका प्रिय शिष्य हुनुहन्छ ।  

उहाँ श्रृंगेरी शारदा पीठका ३६ औं शंकराचार्य हुनुहन्छ । उहाँ दक्षिण भारतको कर्नाटक राज्यको श्रृंगेरीस्थित आदि शंकराचार्यद्धारा स्थापित चार वटा मुख्य पीठ मध्ये एक पीठका पीठाधीश्वर हुनुहुन्छ । दशिणाम्नाय श्री शारदापीठम् वैदिक सनातन धर्मको सबैभन्दा उच्च ,पवित्र र महत्त्वपूर्ण पीठ मानिन्छ ।

श्री श्री विधुशेखर भारती महास्वामी ज्यूको जन्म आन्ध्र प्रदेशको तिरुपतिमा वैदिक विद्वानहरूको परिवारमा पवित्र नागपञ्चमीका दिन अर्थात् २४ जुलाई १९९३ मा भएको थियो। उहाँको बाल्यकालको अर्थात सन्यासपूर्वको नाम श्री कुप्पा वेंकटेश्वर प्रसाद शर्मा थियो। उहाँ  पाँच वर्षको हुँदा उपनयन संस्कार सम्पन्न भएको थियो।

भगवानप्रतिको भक्ति र वैदिक जीवनशैलीले भरिएको पारिवारिक वातावरणमा हुर्किनुभएका उहाँले आफ्ना पिता तथा हजुरबुवाबाट कृष्ण यजुर्वेदको प्रारम्भिक शिक्षा प्राप्त गर्नुभयो। अध्ययनका क्रममा उहाँले असाधारण प्रतिभा, तीव्र स्मरणशक्ति र गहिरो अभ्यासद्वारा वेदमा शीघ्र प्रवीणता हासिल गर्नुभयो। 
किशोर अवस्थामै सन् २००६ मा उहाँले पहिलोपटक जगद्गुरु श्री भारती तीर्थ महास्वामीजीको दर्शन गर्नुभएको थियो, जसले उहाँको जीवनमा गहिरो आध्यात्मिक प्रभाव पारेको थियो।

सन् २००९ को प्रारम्भमा शृंगेरी भ्रमणका क्रममा श्री वेंकटेश्वर प्रसाद शर्माले जगद्गुरु श्री भारती तीर्थ महास्वामीजीको शरण ग्रहण गर्दै उहाँकै सान्निध्यमा शास्त्र अध्ययन गर्ने इच्छा व्यक्त गर्नुभयो। युवा ब्रह्मचारीको निष्ठा, विनम्रता र तीक्ष्ण बुद्धिबाट प्रभावित भई जगद्गुरुले उहाँलाई आशीर्वाद दिँदै व्यक्तिगत रूपमा शास्त्रहरूको शिक्षा दिन थाल्नुभयो। उहाँले ती शिक्षाहरू अत्यन्त छिटो आत्मसात् गर्दै गहिरो अध्ययनमा प्रवीणता प्राप्त गर्नुभयो। साथै उहाँले तर्कशास्त्र र वेदान्त शास्त्रको गहन अध्ययन गर्नुभयो।

आध्य गुरु शंकराचार्यको अविछिन्न रुपमा जोडिएको गुरु–शिष्य परम्परालाई निरन्तरता दिँदै जगद्गुरु श्री भारती तीर्थ महासन्निधानमले विधुशेखर भारती महास्वामीज्यूलाई २३ जनवरी २०१५ मा संन्यास दीक्षा प्रदान गर्नुभयो। साथै उहाँलाई आफ्नो उत्तराधिकारीका रूपमा अभिषिक्त गर्दै “श्री विधुशेखर भारती” नाम प्रदान गर्नुभयो।

आफ्ना पूज्य गुरु श्री महासन्निधानमकै प्रत्यक्ष मार्गदर्शनमा शास्त्रहरूको गहन अध्ययन तथा सिद्धि प्राप्त गर्नुभएका जगद्गुरु श्री विधुशेखर भारती सन्निधानम् आज अद्वितीय विद्वानका रूपमा परिचित हुनुहुन्छ। गुरुको निर्देशनमा उहाँले शृंगेरी मठका विविध कार्यहरूको सञ्चालन, स्वतन्त्र धार्मिक भ्रमण, भक्तजनलाई आशीर्वाद तथा सनातन धर्मका सिद्धान्तहरूको प्रचार–प्रसार गर्दै आउनुभएको छ।

संस्कृत, कन्नड, तेलुगु, तमिल तथा हिन्दी भाषामा उहाँको वाक्पटुता सार्वजनिक प्रवचनहरूमा स्पष्ट देखिन्छ। आफ्नो स्नेह, करुणा, कृपा र गहन ज्ञानद्वारा उहाँले भक्तजनलाई धर्ममार्गतर्फ प्रेरित गर्दै आध्यात्मिक जीवनको मार्गदर्शन प्रदान गरिरहनुभएको छ।

छोटो समयमै उहाँले आफ्नो सरल, सौम्य र करुणामय व्यक्तित्वका कारण असंख्य भक्तजनहरूको श्रद्धा र प्रेम प्राप्त गर्न सफल हुनुभएको छ।

यसअर्थमा भगवान शंकरको साक्षत् स्वरुपमा जन्म लिने विश्वास लिईन्छ ।  जगत्गुरु शंकराचार्यकोको दर्शन दुर्लभ दर्शन हो।