
आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आयोगले आइतबार राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु हुने जानकारी सरकारलाई गराएको छ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आइतबार प्रधानमन्त्री सुशीला कार्की लगाएतमन्त्रीहरुसँगको छलफलमा निर्वाचन आचारसंहिता आइतबार राती १२ बजेबाट लागु हुने जानकारी गराएको हो ।
स्रोतका अनुसार पुरानो ठुलो दल नेपाली कांग्रेस विभाजन भएको अवस्थामा निर्वाचन तालिकामा असर पर्छ कि पर्दैन भन्नेबारेमा पनि प्रधानमन्त्रीले आयोगसँग जानकारी लिइन् । सो क्रममा आयोगका तर्फबाट निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतीकरण गरिएको थियो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने कार्यतालिका रहेको छ ।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, परराष्ट्रमन्त्री बालानन्द शर्मा, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतका पदाधिकारी सहभागी थिए ।
निर्वाचन आयोगले गरेको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले आइतबार सर्वोच्चमा रिट दायर गरेको छ । साथै उसले आयोगलाई समेत उम्मेदवारी मनोनयनको समय पछि सार्न माग गरेको छ ।