काठमाडौं, पुस १३ :

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई हप्ताभित्र पदबाट राजीनामा दिने तयारी गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उनले महानगरको जिम्मेवारी छोड्ने तयारी गरेका हुन्।

आज बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच बालेन रास्वपाबाट निर्वाचन लड्ने र प्रधानमन्त्रीको उम्मेदवार बन्ने विषयमा सहमति भएको बताइएको छ। सो सहमतिअनुसार उम्मेदवार बन्न कानुनी प्रावधानअनुसार बालेनले माघ ६ गतेभित्र काठमाडौँ महानगरपालिकाको प्रमुख पदबाट राजीनामा दिनुपर्ने हुन्छ।

हाल बालेनको कार्यकाल अझै करिब १६ महिना बाँकी रहेको भए पनि उम्मेदवारी प्रक्रियामा जानुपर्ने भएकाले उनले दुई हप्ताभित्र पद त्याग्ने तयारी गरेका हुन्।

मेयर बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार केही महत्वपूर्ण कामहरू बाँकी रहेकाले ती सम्पन्न गरेर राजीनामा दिने योजना छ।
‘केही कामहरू बाँकी छन्। दुई हप्ताभित्र सकिएला भन्ने छ। प्राविधिक र राजनीतिक पक्ष दुवै हेरेर उपयुक्त समयमा निर्णय हुन्छ, त्यो समय करिब दुई हप्ताकै आसपास हो,’ उनले भने।