शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति

डा. शेखर कोइरालालाई रवीन्द्र मिश्रको खुलापत्र : यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ९ पुस, २०८२ मा प्रकाशित
डा. शेखर कोइरालालाई रवीन्द्र मिश्रको खुलापत्र : यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ?
काठमाडौं, पुस ९ :

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई ९ बुँदे खुला पत्र लेख्दै कडा आलोचना गरेका छन्। उनले देशको अवस्था नाजुक रहेको भनाइ सार्वजनिक रूपमा राख्दै आएका कोइरालाले निर्णायक भूमिका नखेलेको आरोप लगाएका छन्।

मिश्रले खुला पत्रमार्फत डा. कोइरालाले पद र शक्ति केन्द्रित राजनीति छोडेर वीपी कोइरालाको विचारअनुसार देशलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरेका छन्। उनले कांग्रेस सभापति वा प्रधानमन्त्री बन्ने चिन्तामा अल्झिनु राजनेताको व्यवहार नभएको टिप्पणी गरेका छन्।

खुला पत्रमा मिश्रले डा. कोइरालालाई स्पष्ट रूपमा ‘वीपीपथ’ रोजेर नेतृत्व लिन वा प्रचण्डमार्गी राजनीतिबाट अलग हुन आग्रह गरेका छन्।  मिश्रले खुला पत्रको अन्त्यमा द्विविधाग्रस्त र अस्पष्ट राजनीतिबाट कुनै पनि नेता राजनेता बन्न नसक्ने टिप्पणी गरेका छन्।

डा. शेखर कोइरालालाई अलि खरो ९-बुँदे खुलापत्र!
पहिले, उहाँको भनाइ:
- देशलाई अभिभावकको खाँचो छ।
- देशको राष्ट्रियता अत्यन्त नाजूक अवस्थामा छ।
- राष्ट्रियता र प्रजातन्त्रसँगै लैजान नसके नेपाल बच्दैन।
- प्रजातन्त्र/लोकतन्त्र 'छाडातन्त्र' भइसकेको छ।
अब मेरो अलि खरो पत्र:
पत्रको शुरू नै यसरी गरौँ -- देशको अवस्था त्यति खराब छ भने, तपाईँ "गर्न सक्ने" ठाऊँमा भएको मान्छे, के हेरेर बस्नुभएको?
कांग्रेस सभापति बन्न पाइन्न कि, प्रधानमन्त्री बन्न पाइन्न कि भनेर आत्मकेन्द्रित चिन्तनबाट तपाईँ समेत ग्रस्त भएको देख्दा, मेरो तपाईँप्रतिको सम्मानमैँ प्वाल पर्न लागिसक्यो, जुन म चाहन्न।
१- वीपी कोइरालाको सच्चा अनुयायी भएर तपाईँ सबैभन्दा माथि देशलाई राख्ने कि पदलाई? के वीपीले त्यही सिकाएका थिए तपाईँलाई? #विचारभन्दामाथिदेश लाई राखेका होइन, वीपीले?
२- चुनावमा नयाँ-नयाँ मिले भने खुब बन्नुहोला तपाईँ प्रधानमन्त्री! सबै नयाँ नमिल्दा त तपाईँको पालो नआउला जस्तो देख्खिसक्यो। तपाईँचाहिँ 'आकाशको फल' हेरेर जहिले पनि ल्याङल्याङ कुरा गरेर बसिराख्नोस्।
३- वीपीजस्तै राजनेता हुनेभए ड्याम्म एउटा पत्रकार सम्मेलन गर्नोस्, 'यो, यो, यो' कारणले देश र काँग्रेसलाई 'वीपीपथ' मा लैजानै पर्ने भयो भन्नुस्। प्रचण्डको कमिजको फेर समातेर नबस्नोस्। तपाईँ सहजताका साथ कांग्रेस सभापति र प्रधानमन्त्री दुबै बन्नुहुन्छ। 
४- प्रचण्डमार्गी काँग्रेसी, भूराजनीतिमा पोख्त छिमेकीले के भन्छन् र सभापति/प्रधानमन्त्री बन्न पाउँला/नपाउँला भनेर सोच्न छोडिदिनोस्।
५- छिमेकीले पनि जेन-जी विद्रोहपछि नेपालमा राजसंस्था भएन भने त्यसको असर अब उनीहरूलाई समेत पर्छ भन्ने अलिअलि बुझिसके। अब केही समयमा पुरै बुझ्नेछन्। अनि त्यसपछि तपाईँ "मैले त राजालाई पूर्वराजा भन्दिन भनेकै थिएँ नि" भन्दै लुरूक्क परेर #मार्गपरिवर्तन गर्ने होला, होइन?
६- यस्तो ल्याङ्ग्रे पाराले पनि राजनेता भइन्छ? यो पाराले तपाईँ प्रधानमन्त्री नै भए पनि तपाईँ सिङ्गो नेपालको होइन, प्रचण्डपथको अर्थहीन प्रधानमन्त्री हुने हो। तपाईँलाई देशको भन्दा प्रधानमन्त्री पदको मायाँ?
७- देश यस्तो अवस्थामा पुग्दा पनि कोइरालाको रगत र वीपीको आस्था बोकेको मान्छेको हालत यस्तो देख्दा मलाई दुख लागेको छ!
८- देश #नवीसमझदारी मा जाने लगभग निश्चित छ। गएन भने विस्तारै या अनपेक्षितरूपमा, तपाईँले नै भने झैँ, #अस्तित्वकोसंकट मैँ जाने हो। त्यसैले, ठूलो, र वीपीको दलको नाताले #नवीनसमझदारी को नेतृत्व गरेर राजनेता बन्नोस्। होइन भने प्रचण्डको फेर समातेर हल्लिरनोस्! विराटनगर गएर "के सोचेँ मैले, के भयो अहिले" भनेर गीत गाएर बस्नोस्।
९- कि प्रष्ट भन्नुस्, म प्रचण्डवादी हुँ भनेर, कि प्रष्ट भन्नुस्, म वीपीवादी हुँ भनेर। यता पनि ठिक्क उता पनि ठिक्कको राजनीति तपाईँलाई सुहाउँदैन।
यस्तो ल्याङल्याङे पाराले संसारमा कोही पनि राजनेता भएका छैन। बाँकी तपाईँको इच्छा!
तपाईँको शुभचिन्तक
रवीन्द्र मिश्र

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार