रौतहट, पुस ४ :

करदाता सेवा कार्यालय खारेज गर्ने सरकारी निर्णयको विरोधमा रौतहटका व्यापारी तथा व्यवसायीहरू आन्दोलित भएका छन्। रौतहट उद्योग वाणिज्य संघको नेतृत्वमा गौर बजारमा आज विरोध प्रदर्शन गरिएको हो।

प्रदर्शनका क्रममा व्यापारीव्यवसायीहरूले करदाता सेवा कार्यालय खारेज मान्य छैन व्यवसायमैत्री निर्णय गर करदाता मैत्री सेवा सुनिश्चित गर  लगायतका विभिन्न नारा लगाउँदै गौर बजार परिक्रमा गरेका थिए।

आन्दोलनमा सहभागी वक्ताहरूले करदाता सेवा कार्यालय खारेज हुँदा कर तिर्ने प्रक्रिया झन्झटिलो हुने, सेवाग्राहीलाई टाढा जानुपर्ने बाध्यता सिर्जना हुने र साना तथा मध्यम व्यवसायीहरू थप समस्यामा पर्ने बताएका छन्। उनीहरूले निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

रौतहट उद्योग वाणिज्य संघले करदाता सेवा कार्यालय जिल्लामै कायम राख्नुपर्ने माग गर्दै आवश्यक परे चरणबद्ध आन्दोलनलाई थप कडा बनाउने चेतावनी समेत दिएको छ। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।