म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा मापदण्डभन्दा बाहिर गएर बनाएको कल्भर्ट पर्खाल भत्काइएको छ ।
मापदण्डभन्दा कम चौडाइ भएको कल्भर्टको पर्खाल आज अनुगमन टोलीले भत्काएको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत सञ्चालित गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजनाको काउलेगौडास्थित खोल्सामा निर्माणाधीन कल्भर्टको पर्खालको चौडाइ ६० सेन्टिमिटर हुनुपर्नेमा ४९ सेन्टिमिटर बनाएको भेटिएपछि भत्काएको अनुगमन टोलीले जनाएको छ ।
गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारी, जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, पूर्वाधार विकास कार्यालयका प्रमुख डा महेन्द्र बानियाँसहितको टोलीले मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काएर नयाँ बनाउन निर्देशन दिएको हो ।
“मापदण्डभन्दा कम चौडाइको पर्खाल भत्काउन पूर्वाधार विकास कार्यालयका प्राविधिकले दिएको निर्देशन मजदुरले नमानेपछि म आफैँ भत्काउन सुरु गर्नुपरेको थियो”, गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले भने, “सडकको पर्खालमा गुणस्तरीय मसला (सिमेन्ट र बालुवाको अनुपात मिलाएर) प्रयोग गर्न र ‘फिनिसिङ’ राम्रो बनाउन निर्देशन दिएका छौँ ।”
बेनी नगरपालिकामा रहेका तीन वटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र जगन्नाथ जोड्ने गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको उक्त योजना निर्माणका लागि बिबिपीएल बिएस डिएस धौलागिरिले गत असार महिनामा रु दुई करोड २३ लाख ४६ हजारमा ठेक्का सम्झौता गरेको थियो ।
हालसम्म ५० प्रतिशत भौतिक प्रगति भएको योजनामार्फत ३०० मिटर ढलान र एक हजार ७०० मिटर ग्राभेलसहित स्तरोन्नति गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख डा बानियाँले बताए ।
टोलीले बेनी–पाखापानी सडकअन्तर्गत बेनी नगरपालिका–९ को किराखोरदेखि नेप्टेचौर हुदै तोरीपानी जोड्ने चार किलोमिटर सडक स्तरोन्नति योजनाको पनि अनुगमन गरेको छ । किराखोर–नेप्टेचौर खण्डमा भइरहेको प्रिमिक्स कालोपत्र गर्ने कामको अनुगमन गरेको टोलीले उक्त योजनामा सन्तोषजनक काम भएको जनाएको छ ।
आगामी असार महिनासम्म ठेक्काको म्याद रहेको उक्त योजनाको ६९ प्रतिशत भौतिक प्रगति भएको कार्यालय प्रमुख बानियाँले बताए । निर्धारित समयभित्रनै योजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मजदुर र उपकरण परिचालन गरेको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान