ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ) मा पछिल्ला दुई महिनामा १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिले गत साउन र भदौमा भक्तजनले मन्दिरमा चढाएको भेटी रकम १८ लाख २६ हजार पाँच सय ५५ रहेको जनाएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले साउनमा छ लाख ९१ हजार र भदौमा ११ लाख ३५ हजार पाँच सय ५५ भेटी सङ्कलन भएको बताउनुभयो।
समितिले सार्वजनिक गरेको तथ्याङ्कानुसार साउनमा पाथीभरा मन्दिरमा दर्शन गर्न आउने भक्तजनको सङ्ख्या एक हजार नौ सय ५५ थियो भने भदौमा यो सङ्ख्या बढेर नौ हजार नौ सय ३९ पुगेको छ ।
दशैँ र तिहार पर्व नजिकिएसँगै पाथीभरा दर्शन गर्ने मुख्य मौसम सुरु भएको कारण आगामी दिनमा भक्तजनको सङ्ख्या अझै बढ्ने जनाइएको छ ।
पाथीभरा मन्दिरमा दशैँ र तिहारको समयमा विशेष पूजा, अनुष्ठान र धार्मिक कार्यक्रमको आयोजना हुने भएकाले यो समयमा तीर्थयात्रीको उल्लेख्य वृद्धि हुने गरेको समितिले जनाएको छ ।