काठमाडौं, कात्तिक ९ :

 प्रधानमन्त्री सुशीला कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरेका खगेन्द्र सुनारको नाम अन्ततः मन्त्री सूचीबाट हटाउने तयारी गरेकी छन्।

सुनारको नाममा सर्वोच्चदेखि जिल्ला अदालतसम्म मुद्दा विचाराधीन रहेको तथ्य सार्वजनिक भएपछि प्रधानमन्त्रीले उनको नियुक्ति पुनर्विचार गर्ने निर्णय गरेकी हुन्। उच्च अदालतका न्यायाधीशहरूविरुद्ध गालीगलौज र अदालत भवनमा तोडफोड गरेको भन्दै अधिवक्ता मनिषा गौतमले सुनारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको अवहेलनाको मुद्दा विचाराधीन रहेको छ । उक्त मुद्दामा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, सुनारबाहेक अन्य तीन जनालाई मात्रै आज साढे २ बजे शीतल निवासमा शपथ ग्रहण गराउने तयारी गरिएको छ। ‘उहाँको नाममा विवाद सार्वजनिक भएपछि प्रधानमन्त्रीले पुनर्विचार गर्दै हुनुहुन्छ,’ प्रधानमन्त्री सचिवालयका एक अधिकारीले बताएका छन्।

सचिवालयका अनुसार अब शपथ लिनेमध्ये डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाइने छ।

यसअघि प्रधानमन्त्री कार्कीले चार मन्त्री सिफारिस गरेकी थिइन् भने अब विवादपछि मन्त्रिपरिषद् विस्तार तीन जनामै सीमित हुने भएको छ।