काठमाडौं, कात्तिक ४ :

नेपाल नर्सिङ संघले आफ्ना पेसागत मागहरू पूरा नभएको भन्दै चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ।  संघले कात्तिक १२ देखि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने चेतावनी दिएको हो।

संघकी केन्द्रीय अध्यक्ष चन्द्रकला शर्माका अनुसार, आन्दोलनको पहिलो चरणमा कात्तिक ४ देखि ११ गतेसम्म देशभरका अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालोपट्टी बाँधेर विरोध जनाइनेछ। त्यसपछि, कात्तिक १२ देखि १८ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यकबाहेकका नर्सिङ सेवा बन्द गरिने जानकारी दिइयो।

संघले निजी अस्पताल र मेडिकल कलेजहरूमा नर्सहरूमाथि श्रम शोषण हुँदै आएको भन्दै आन्दोलनको घोषणा गरेको हो। अध्यक्ष शर्माले भनिन्, ‘नर्सहरूले सेवा गरेबापत आफ्नो रोजिरोटी सुनिश्चित हुने गरी न्यूनतम तलब सुविधा पाउनैपर्छ। श्रम ऐनले तोकेको भन्दा कम पारिश्रमिक दिइनु निन्दनीय छ।’ 
उनले नर्सहरूका लागि स्वास्थ्य सेवा ऐनअनुसारको पारिश्रमिक व्यवस्था गर्नुपर्ने माग पनि दोहोर्‍याइन्।

संघले कात्तिक २ गते सबै सरोकारवालासँगको बृहत् बैठकमा १५ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको हो। यद्यपि, औपचारिक वार्ता तत्काल निष्कर्षमा पुग्न नसके पनि स्वास्थ्य मन्त्रालयले कार्यदल गठन र सातै प्रदेशमा अनुगमन समिति बनाएको विषयमा संघले स्वागत जनाएको छ।

सेवामा असर पर्नेबारे क्षमा याचना

संघकी महासचिव डा. देवका आचार्यले पत्रकार सम्मेलनमा संघको आन्दोलनबाट सर्वसाधारणको स्वास्थ्य सेवामा असुविधा हुनसक्ने भएकाले क्षमा याचना गर्दै आन्दोलनको सम्पूर्ण जिम्मेवारी सरकार र सरोकार निकायले बेहोर्नुपर्ने स्पष्ट पारिन्।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नर्सिङ संघ जनतालाई गुणस्तरीय सेवा दिन प्रतिबद्ध छ। तर राज्य र सरोकार निकायले पटक–पटक हाम्रा जायज माग बेवास्ता गरेको कारण यो विषम परिस्थिति सिर्जना भएको हो। त्यसैले यस आन्दोलनमा सम्पूर्ण महानुभावहरूबाट साथ र सहयोगको अपिल गर्दछौं।’