काठमाडौं, भदौ १५ :

लामो समयदेखि थुप्रिएको बक्यौता रकम उठाउन माग गर्दै देशभरका दुग्ध किसानहरू आन्दोलनमा उत्रिएका छन्। 

दुग्ध विकास संस्थान (डीडीसी) द्वारा करिब १ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेकाले किसानहरूले संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा धर्ना तथा नाराबाजी गरेका हुन्।

अखिल नेपाल किसान महासंघको अगुवाइमा आयोजित आन्दोलनमा सहभागी किसानहरूले पटक–पटक दूधको मूल्य समयमै उपलब्ध गराउन आग्रह गर्दा पनि सुनुवाइ नभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

किसानहरूले सरकार र सम्बन्धित निकायसँग यथाशीघ्र समस्या समाधान गर्न माग गरेका छन्। उनीहरूले समयमै भुक्तानी नपाउँदा दैनिकी प्रभावित भएको, पशुपालन व्यवसाय नै संकटमा परेको गुनासो गरेका छन्।

यदि माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने संघले चेतावनी दिएको छ ।