काठमाडौं, भदौ ८ :

नेपाल र भियतनामका उपराष्ट्रपतिबीच आज काठमाडौंमा सम्पन्न प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा व्यापार, लगानी, पर्यटन, जलविद्युत, डिजिटल रूपान्तरण र सांस्कृतिक सहकार्यका विविध पक्षमा गहिरो छलफल गरिएको छ।

काठमाडौंको होटल याक एन्ड यतिमा आइतबार बिहान सम्पन्न उक्त बैठकमा नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादव र भियतनामकी उपराष्ट्रपति भो थी आन्ह सुआनले दुई देशबीचको ऐतिहासिक सम्बन्ध, मित्रता र सद्भावनालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।

संयुक्त पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त महाशाखाका प्रमुख सहसचिव प्रकाश अधिकारीले दिएको जानकारीअनुसार, बैठकमा उच्चस्तरीय भ्रमण आदानप्रदान, पर्यटन प्रवर्द्धनका लागि हवाई सम्पर्क विस्तार, सांस्कृतिक तथा धार्मिक सहकार्य, जलवायु परिवर्तनका असरबारे अनुभव साटासाट, र व्यापार-लगानी विस्तार लगायतका विषयमा विस्तृत छलफल भएको हो।

दुवै पक्षले बुद्ध धर्म र सांस्कृतिक समानतालाई आधार बनाएर धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने विषयमा सहमति जनाएका छन्। नेपालमा भियतनामी लगानी भित्र्याउने तथा डिजिटल ट्रान्सफर्मेसनको क्षेत्रमा सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको अधिकारीले बताए।

बैठकमा जनस्तरको सम्बन्ध विस्तार, अन्तर्राष्ट्रिय कूटनीतिक मामिलामा साझा धारणा विकास तथा नेपालले भोगिरहेको जलवायु परिवर्तनका असरहरूप्रति भियतनामको सहानुभूति व्यक्त गर्दै दुवै मुलुकले सहकार्य गर्दै अघि बढ्ने सहमति पनि भएको छ।

नेपाल–भियतनाम द्विपक्षीय सम्बन्धको ५० औँ वर्षगाँठको सन्दर्भमा आयोजित यो बैठकलाई दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लैजाने अवसरका रूपमा लिइएको छ।