
महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको चाप बढेको छ । उत्कृष्ट सस्तो सेवाका कारण भारतीय आँखाका विरामी समेत यहाँ उपचार गराउन आकर्षित भइरहेका छन् ।
अस्पतालले आर्थिक वर्ष ०८१ /८२ मा २४ हजार ७८० जनालाई आँखासम्बन्धी उपचार सेवा प्रदान गरेको छ । अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीका अनुसार उक्त अवधिमा मोतियाविन्दु भएका ६३४ जनाको शल्यक्रिया गरिएको छ । पाँच हजार ४१३ जनालाई चस्मा वितरण गरिएको छ ।
‘आँखा उपचार सेवालाई गुणस्तरीय बनाएका छौं,’ उनले भने, ‘अन्य स्थानका तुलनामा सेवा सस्तो पनि छ, स्वदेशी वा विदेशी भनेर कुनै विभेद गरिँदैन, सबैलाई समान शुल्क लिएर समान व्यवहार गरी उपचार गरिँदै आएको छ ।’
उनका अनुसार यही कारणले अस्पतालमा सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालमा सेवा लिनेमा एक हजार ६६७ जना भारतीय रहेका छन् । नेत्र अधिकृत धामीका अनुसार भारतीय बिरामीको चाप बढ्नुमा अस्पतालको गुणस्तरीय, विभेदरहित सेवा र अतिरिक्त शुल्क नलिइनेलगायत छ ।
‘मोतियाविन्दु, आँखामा मासु पलाएका, नेत्र ज्योतिको समस्या भएका, चस्मा लाग्ने, परेला फर्केकालगायत बिरामीको शल्यक्रिया मेसिनका माध्यमबाट अस्पतालमै गरिँदै आएको छ,’ उनले भने, ‘जलविन्दु भएका, आँखाको नानी (रेटिना) प्रत्यारोपण गर्नुपर्ने जटिल प्रकृतिका बिरामीलाई शल्यक्रियाका लागि गेटा आँखा अस्पतालमा रेफर गरिँदै आएको छ ।’
उनका अनुसार हाल दैनिक अस्पतालमा ११५ देखि १२० जनासम्म बिरामी आँखा उपचारका लागि पुग्ने गरेका छन् । बिरामीबाट लिने शुःल्कबापतको रकम बचत गरी अस्पताल सञ्चालनमा खर्च गरिँदँ आएको उनको भनाइ छ ।
आर्थिक वर्ष ०८१/८२ मा विद्यालय र दुर्गम स्थानमा आँखा शिविर सञ्चालन गरी थप सेवा प्रवाह गरिएको छ । विद्यालयस्तरका ६ शिविरमार्फत एक हजार ९०० विद्यार्थीलाई सेवा दिइएको थियो भने स्थानीय तहस्तरमा आयोजित शिविरबाट तीन हजार ९०० जनाले सेवा लिएका छन् ।
२०४२ मा आँखा उपचार केन्द्रका रुपमा उक्त अस्पतालको स्थापना गरिएको थियो । पछि २०७० सालमा १० शय्याको आँखा अस्पतालका रूपमा स्तरोन्नति गरिएको हो । अस्पताल सञ्चालन हुँदै आएको भवनमा शल्यक्रिया गर्न अप्ठ्यारो हुन थालेपछि भवन निर्माणका लागि नगरपालिका र प्रदेश सरकारलाई आग्रह गरेका छौं, अश्वासन पाएका छौं, अहिलेसम्म बजेटको टुंगो नलागेको नेत्र अधिकृत धामीले बताए ।
हाल वायु प्रदूषणका कारण आँखा पाक्ने (भाइरल) रोगको सङ्क्रमण बढेको उल्लेख गर्दै सर्वसाधारणलाई यस रोगबाट बच्न दैनिक सफा पानीले आँखा सफा राख्ने, घरभन्दा बाह्य क्षेत्रमा जाँदा छत्रेटोपी, कालो चस्माको प्रयोग गर्न उनले सल्लाह दिए । रोगको सङ्क्रमण भइहाले आँखा अस्पतालमा पुगेर चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्ने उनी बताउँछन् ।
२०३५ सालमा स्थापना भएको नेपाल नेत्रज्योति संघ नेपालकै अग्रणी गैर-सरकारी संस्था हो । यसले सुलभ र गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत संघले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ । -रासस