नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गरेका छन् ।
कीर्तिपुरमा बुधबार आयोजित ४७औं पुष्पलाल स्मृति दिवसको कार्यक्रममा उनले सरकारमा दुईवटा हात्तीजस्तै शक्तिशाली पार्टी रहे पनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे । उनले एकपछि अर्को भ्रष्टाचारका काण्ड देखापरेको भन्दै भ्रष्टहरुले देशमा शासन गरिरहेको दाबी गरे ।
‘अहिले कस्तो सरकार बनिरहेको छ । के गरिरहेको छ । जनताको हितमा । कम्युनिस्ट पार्टीको सरकार छ । तर कम्युनिस्ट पार्टी कसरी भयानक ढंगले बर्बादीतर्फ, बदनामतर्फ गइरहेको छ । हामीले जुन बेलामा नयाँ जनवाद स्थापना गर्न सकेको भए समाजवादतर्फ जाने अनिवार्य आधार बन्थ्यो । तर पुँजीवादी जनवाद स्थापना भयो,’ उनले भने, ‘बहुदलीय जनवाद स्थापना भयो । त्यसले हामीलाई दलाल पुँजीवादतर्फ लग्यो । राजनीतिक संकट हरदिन गहिरिएको छ । दुईवटा हात्तीजस्ता पार्टीहरु छन्, सत्तामा । कमिलो पनि मार्दैनन् । हात्ती जस्ता पार्टीहरुले । देश र जनताको हितमा कमिलो मार्न पनि यो सरकारले सक्दैन ।’
उनले देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको बताए । भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मूलन नगरेसम्म जनताले आफ्नो हक नपाउने खनालको भनाइ छ । हरेक दिन २५ सय नेपाली विदेशमा रोजगारीका लागि जाने गरेको र पाँच जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै सरकारलाई प्रतिप्रश्न गरे ।
‘एकपछि अर्को भ्रष्टाचारका काण्डहरु देखापरेका छन् । भ्रष्टहरुले देशमा शासन गरिरहेका छन् । भ्रष्टाचार आज यो देशको हर क्षेत्रमा व्याप्त भएको छ । जबसम्म भ्रष्टाचार उन्मूलन गर्ने अभियान एउटा आँधीबेहेरी ल्याउन सकिँदैन, तबसम्म यो देशका जनताले हक पाउने कुनै सम्भावना छैन,’ उनले भने, ‘रोजगारी सिर्जना गर्ने कुनै सम्भावना छैन । हरेक दिन विदेशमा २५ सय मानिस जाँदै छन् । पाँचवटा शव बाकसमा फर्किएको छ । यही हो बहुदलीय जनवादले गरेको काम ? पुँजीवादी जनवादले गरेको काम र प्रगति ? व्यवहारमा यही कुरा देखिरहेका छौँ ।’
सम्मानित नेता खनालले नयाँ जनवादलाई लागु गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास विन्दुमा गएपछि नेपालको कम्युनिस्ट आन्दोलन भड्किएको दाबी गरे । ०६२/६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको खनालको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन
भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक
परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान