काठमाडौं, असार २८ :

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पतञ्जलि जग्गा प्रकरणमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ३५ लाखमा धरौटीमा रिहा भएको विषयमा आफूहरुले पनि प्रश्न गरिरहेको बताएका छन् ।

चीनको भ्रमण सकेर शनिबार स्वदेश फर्किएका खनालले सञ्चारकर्मीसँग कुरा गर्दै  यस्तो बताएका हुन् । भ्रष्टाचारको आरोप लागेर ३५ लाख धरौटीमा छुटेका तपाईंका पार्टीका अध्यक्षले नेतृत्व गरेर पार्टी सबल र राम्रो हुन्छ भन्ने कुरा कसरी विश्वास गर्ने ? भन्ने पत्रकारको प्रश्नमा उनले यो आमजनताको प्रश्न रहेको बताए ।

उनले यस्ता प्रश्नहरु आफूहरुले पनि गर्नुपर्ने हुनसक्ने बताए । आफूले हालै सम्पन्न पार्टीको सचिवालय बैठकमा लिखित दस्ताबेज प्रस्तुत गरेको र दस्ताबेजबारे पार्टीभित्रै छलफल भइसकेपछि बाहिर ल्याउने उनको भनाइ छ ।

‘यो आमजनताको प्रश्न तपाईंले गर्नुभयो । हामीले पनि यस्ता प्रश्नहरु गर्नुपर्ने हुनसक्छ । मैले हाम्रो पार्टीको सचिवालयको भर्खरै सम्पन्न भएको बैठकमा एउटा लिखित दस्ताबेज प्रस्तुत गरेको छु,’ उनले भने, ‘त्यो दस्ताबेज अहिले मैले बाहिर ल्याएको छैन । त्यो पार्टीभित्रै पहिला राखौँ भनेकाले पार्टीभित्रै राखेको छु । त्यसबारेमा छलफल हुन्छ, हुनेवाला छ । त्यो छलफल भइसकेपछि यो बारेमा भन्नुपर्ने कुरा भन्नेछु ।’

पूर्वप्रधानमन्त्री खनालले आफ्नो पार्टीको मात्रै नभइ सिँगो कम्युनिस्ट आन्दोलनलाई वैचारिक क्रान्ति कार्यदिशा, नीति, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिका बारेमा अघि बढाउन आवश्यक रहेको बताए । वामपन्थीहरुबीच खँदिलो एकता आवश्यक भएको बताए ।