काठमाडौं, असार २८ :

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीति र एमालेमा प्रवेश भण्डारी प्रवेश गरेको भए त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएका हुन् ।

‘यदि विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्नेकुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ,’ अध्यक्ष खनालले भने ।

चीनको भ्रमण सकेर शनिवार स्वदेश फर्किएका खनालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरु सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए ।

एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको उनको भनाइ छ । एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको खनालले बताए ।

‘अहिलेको नेपालमा सबैभन्दा ठुलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो,’ उनले भने, ‘एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हुने हो भने अलि ठुलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ ।’