
संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्ता पक्ष र प्रतिपक्ष दलहरूको संयुक्त बैठक निष्कर्षविहीन बनेको छ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शीर्ष नेताहरू सहभागी थिए। तर, गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिन गर्नुपर्ने प्रतिपक्षको प्रमुख मागमा सत्ता पक्ष सहमत नहुँदा बैठक निष्कर्षमा पुग्न सकेन।
संयुक्त बैठकपछि कांग्रेस र माओवादी केन्द्रबीच छुट्टै छलफल भएको छ। कांग्रेसको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रको तर्फबाट उपमहासचिव वर्षमान पुनले छलफलको नेतृत्व गरेका हुन्।
सत्ता पक्षसँगको छलफलअघि प्रतिपक्षी दलहरूले छुट्टै बैठक गरी रास्वपाले अघि सारेको पाँच बुँदे प्रस्ताव स्वीकार गरेका थिए। सो प्रस्तावलाई सत्ता पक्षलाई समेत मनाउन प्रयास गर्ने निर्णय भएको थियो।
रास्वपाको प्रस्तावमा गृहमन्त्री लेखकको राजीनामा प्रमुख मागको रूपमा प्रस्तुत गरिएको छ।