वीरेन्द्रनगर, जेठ २६ :

 कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ।

सरकारले गत बुधबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यवाहक प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेका थिए। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएकाले सुदूरपश्चिम प्रदेशका प्रमुख मियाँले कार्यवाहकको रूपमा कर्णालीको जिम्मेवारी सम्हालेका हुन्।

दुई दिनसम्म चलेको छलफलमा २३ जना प्रदेशसभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए। छलफलका क्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै मुख्यमन्त्री यामलाल कँडेलले राजनीतिक अस्थिरताबीच पनि प्रदेशको समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। उनले प्रदेशसभाबाट पारित यस नीति तथा कार्यक्रमलाई नै आगामी बजेटको आधार बनाइने जानकारी दिए।

नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्रदेश समृद्धिको प्रमुख आधार मानी उच्च प्राथमिकता दिइएको छ। साथै, गुणस्तरीय र सर्वसुलभ शिक्षा तथा स्वास्थ्य सेवामार्फत मानव पुँजीको विकास गरिने उल्लेख छ। शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग र रोजगारीलाई गरिबी निवारणसँग जोड्दै समग्र विकासको दिशा तय गर्ने सरकारको योजना छ।

कृषिक्षेत्रमा आधुनिकीकरण, व्यावसायीकरण, यान्त्रीकरण र विविधीकरणमार्फत उत्पादन वृद्धि गर्ने, खाद्यमा आत्मनिर्भरता हासिल गर्ने र कृषि निर्यातलाई प्रोत्साहन गर्ने नीति पनि कार्यक्रममा समावेश गरिएको छ।