
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा सम्पर्कविहीन भएपछि जिम्मा लिएका वकिललाई ५०/५० हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले मिश्र र राणालाई हाजिरी जमानीमा जिम्मा लिएका वकिलले समयमै अदालतमा उपस्थित नगराएपछि जरिवाना गरिएको जानकारी दिए ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि मिश्र र राणालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि मिश्रकी पत्नीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
सर्वोच्च अदालतले अनुसन्धान सकिएको भन्दै जेठ २ गते मिश्रलाई र वैशाख ७ गते राणालाई हाजिरी जमानीमा छोड्न आदेश दिएको थियो ।
तर मुद्दा अदालतमा पुगेको र बयानको चरणमा पुगिसक्दा पनि दुवैजना सम्पर्कमा नआएपछि जिम्मा लिने वकिलहरुलाई मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार जरिवाना गरिएको हो ।
तीनकुने घटनामा हिंसात्मक घटना हुँदा कीर्तिपुरका सबिन महर्जन र भिडियो पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । साथै घर तोडफोड र आगजनीजस्ता गतिविधि पनि भएका थिए ।
ती घटनामा संलग्न रहेको अभियोगमा मिश्र, राणा र अन्य ६५ जनाविरुद्ध राजद्रोह, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ । हाल यो मुद्दामा काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस जारी छ ।