
हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा गएको पहिरोले दुई घरमा क्षति पुर्याएको छ भने १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।
बिहीबार राति ११ बजेतिर लेदोसहितको पहिरो जाँदा तिलचुङ खोलाका पाँच वटा काठे पुल पनि बगाएको वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार गाउँमाथि रहेको एक ताल फुटेर पहिरो गएको आशंका गरिएको छ। पुष्टि गर्न पाँच जना स्थानीयलाई तालतर्फ पठाइएको भए पनि टोली अझै नपुगेको उनले बताए।
समुद्र सतहदेखि करिब ५ हजार ४ सय मिटर उचाइमा रहेको उक्त ताल आसपासको क्षेत्र निकै विकट भएकाले सुरक्षाकर्मीको टोली घटनास्थलमा ढिलो पुगेको हो। हाल जिल्ला प्रहरी प्रमुखसहितको टोली त्यहाँ पुगेको छ र क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।
जोखिममा परेका १८ घरधुरीका ३२ जना स्थानीयलाई खुला चौरमा सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ।