शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार मनाेरञ्जन

भारतमा ‘जार’ को उच्च माग, नेपालमा निर्देशकलाई हलमै पुस्तक उपहार !

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २७ वैशाख, २०८२ मा प्रकाशित
भारतमा ‘जार’ को उच्च माग, नेपालमा निर्देशकलाई हलमै पुस्तक उपहार !
काठमाडौं, वैशाख २७ :

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ को भारतमा उच्च माग भएको छ । पहिलो चरणमा सिक्किम, दार्जिलिङ, नाम्ची, खार्साङ र कालिङपोङमा प्रदर्शनमा आएको यो चलचित्रप्रति दर्शकको उच्च आकर्षण देखिएपछि सम्बन्धित शहरका मल्टिप्लेक्सहरूले शो थप गरेका छन् ।

सिलिगुडीस्थित सिटी सेन्टरमा अवस्थित आइनक्स हलले प्रदर्शनको पहिलो दिन नै निर्धारित शोजमा बढोत्तरी गरेको कार्यकारी निर्माता ज्योति क्षेत्रीले बताइन् । यस्तै दार्जिलिङमा पनि चलचित्रको शोज थप भएको छ । हाल प्रदर्शनमा आएका सबै सहरमा चलचित्रको उच्च माग देखिएको छ । सम्बन्धित हलहरूले शो थपका लागि सम्पर्क गरिरहनु भएको छ,’ क्षेत्रीले भनिन्, ‘दर्शकले जारप्रति देखाउनु भएको प्रेमले उत्साहित छौं ।’

दोस्रो चरणमा नेपालीभाषीहरूको बाहुल्य रहेका सहरहरू मिरिक, आसाम, देहरादुन, धर्मशाला, दिल्ली, बैङ्गलोर, कोलकाता, हैदरावाद, गोरखपुरलगायत ठाउँमा चलचित्र प्रदर्शनको क्रममा रहेको क्षेत्रीले जानकारी दिइन् ।

नेपालमा पनि यो चलचित्रलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । कलाकारसहितको निर्माण टिम शुक्रबार काठमाडौंका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिएको छ । रञ्जना सिनेमाज्, क्यूएफएक्स छाया सेन्टर, क्यूएफएक्स लाबिम मललगायत हलमा पुग्दा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाही दर्शकबाट घेरिएका थिए । पर्दामा देखिरहेका कलाकारहरूलाई नजिकबाट देख्दा दर्शक उत्साहित देखिए । सेल्फीमा रमाए, अटोग्राफ लिए ।

चलचित्रले उठाएको कथावस्तु, बीजीएम, सिनेमाटोग्राफी, कलाकारहरूको अभिनयकला, निर्देशकीय पक्षलाई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । समीक्षकहरूले ‘जार’ लाई उच्च रेटिङ प्रदान गरिरहेका छन् । निर्देशक फुर्वाछिरिङ लामा र सिनेमाटोग्राफर सरवानन इलावार्सुलाई दर्शकले प्रत्यक्ष भेटेर बधाई र राम्रो चलचित्र प्रदान गरेकामा धन्यवाद दिए ।

यसैबीच दर्शक प्रतिक्रिया लिन ठमेलस्थित छाया सेन्टर पुगेका निर्देशक लामालाई एक दर्शकले उपन्यास उपहार दिएका छन् । वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित जारलाई उत्कृष्ट तरिकाले दृश्यभाषामा उतार्न सफल भएकामा बधाई दिँदै एक दर्शकले नेपाली समाजको ऐतिहासिक कथा समेटिएका दुई उपन्यास उपहार गरेका हुन् । ‘नेपाली समुदायको इतिहास बोल्ने धेरै कथाहरू अहिलेको पुस्ताले थाहा पाउन जरुरी छ, भोलिका दिनमा पनि ऐतिहासिक दस्ताबेज बन्नसक्ने चलचित्रहरू बनाउँदै जानु भन्ने शुभकामनासहित दर्शकले हलमै उपन्यास उपहार दिनुभयो,’ निर्देशक लामाले भने ।

दर्शक र समीक्षकबाट प्राप्त प्रतिक्रियाले खुसी बनाएको भन्दै निर्देशक लामाले यो प्रकारको साथ भोलिको दिनमा पनि निरन्तर पाउने अपेक्षा राखे । ‘जार’ मा सौगात र अनुपविक्रमसँगै भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा प्रमुख अभिनयमा छन् ।

अखिलेश राईको सम्पादन  रहेको चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । नेपालमा यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले प्रदर्शन तथा वितरण गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार