शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
समाचार स्वास्थ्य

‘स्वास्थ्य सेवाको गुणस्तर बढाउन आवश्यक छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ वैशाख, २०८२ मा प्रकाशित
‘स्वास्थ्य सेवाको गुणस्तर बढाउन आवश्यक छ’
काठमाडौं, वैशाख २३ :

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३औँ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । ‘हाम्रो संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको छ,’ उनले भने, ‘संविधानको भावनाअनुसार आमनागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न हाम्रो ध्यान केन्द्रित हुनुपर्दछ । राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो ।’

उनले संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकहरूले यो पेसालाई सेवाभावको दृष्टिकोणले हेरेको भन्ने विश्वास व्यक्त गरे । हाल देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुसीको विषय भएको उनको भनाइ थियो ।

‘नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको छ भन्ने आफैंले अनुभव गरेको कुरा मैले पटक-पटक भन्ने गरेको छु, स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो, यसलाई रोक्न सम्बद्ध पक्षले उपर्युक्त कदम चाल्नुपर्छ भन्ने म ठान्दछु,’ उनले भने ।

उनले यस प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि नै विभिन्न वर्ग, तह र भौगोलिक क्षेत्रका आमनागरिकलाई गुणस्तरीय र विशेषज्ञ सेवा प्रदान गर्दै आउनु खुसीको विषय हो भन्दै आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन, स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

साथै, १३५ वर्षको लामो यात्रा पूरा गर्दै एक साधारण अस्पतालबाट आज एउटा प्रतिष्ठानका रुपमा स्वास्थ्य सेवा तथा शिक्षा क्षेत्रको महत्त्वपूर्ण आधार बन्नु खुसीको विषय भएको उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रही शिक्षण अस्पतालको रुपमा यसले चिकित्सा शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै भविष्यमा नयाँ नयाँ विधामा जनशक्ति उत्पादन गर्नेतर्फ पनि यस प्रतिष्ठान सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रा.डा. सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार