काठमाडौं, वैशाख १९ :

सरकारले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज (शुक्रबार) सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आईटीमा-आधारित भू-सूचना प्रणाली स्तरोन्नति गरी सेवा प्रवाहमा सुधार गरिने उल्लेख गरे । ‘भूमिको नाप जाँच र तथ्याङ्क व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिनेछ । भूमिको उचित प्रयोग गर्न भू-उपयोग योजना कार्यान्वयन गरिनेछ, भूमिसम्बन्धी विधेयकलाई यसै अधिवेशनमा पारित गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

सरकारले सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने जनाएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्या समाधान गर्नुका साथै समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने भनिएको छ ।

सरकारले तथा ऋण असुली न्यायधिकरण स्थापना गर्नुका साथै सहकारी तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्युतीय सूचना प्रणालीको मापदण्ड कायम गर्दै सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नति पनि गर्ने भएको छ । ‘गरिबी निवारण प्रत्यक्ष लक्षित कार्यक्रमहरू समन्वयात्मक र प्रभावकारी रूपमा सञ्चालन गरिनेछ, विपन्न पहिचान भएका परिवारलाई राज्यका सुविधामा पहुँच वृद्धि गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

दिगो वन व्यवस्थापनमा आधारित वन संवर्द्धन गर्दै वन स्रोतको उचित उपयोग गर्ने, वन पैदावार उत्पादन वृद्धि गरी आन्तरिक आपूर्ति, रोजगारी सिर्जना र आयात प्रतिस्थापनमा जोड दिने र सामुदायिक वन व्यवस्थापन सुदृढ गर्दै वनमा आधारित स्रोतको उचित उपयोग गर्ने सरकारको योजना छ । राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कायक्रममा भनिएको छ, ‘सङ्घ-प्रदेश समन्वय सुदृढ गर्दै राष्ट्रिय वनलाई व्यावसायिक कबुलियती वनमा रूपान्तरण गर्ने प्रक्रियालाई सरल र सहज बनाइने छ । राष्ट्रिय निकुञ्ज तथा संरक्षित वन क्षेत्रको वातावरणीय सुरक्षा सुनिश्चित गर्दै राष्ट्रिय प्राथमिकताका आयोजना सञ्चालन गरिनेछ ।’

सरकारले चुरे संरक्षणका लागि गुरुयोजना पुनरावलोकन गर्नुका साथै राष्ट्रपति चुरे तराई मधेस संरक्षण परियोजनाको पुनःसंरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाका रूपमा अघि बढाउने भएको छ । एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनस्र्थापनामा ध्यान दिने सरकारको योजना छ ।

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै राहत प्रणालीलाई बिमा प्रणालीसँग एकीकृत गर्दै संरक्षण क्षेत्रमा मानव-प्रकृति सहअस्तित्व कायम गर्ने सरकारको नीति छ । सरकारले वातावरणीय अध्ययन तथा मूल्याङ्कन प्रक्रिया सरल बनाउनुका साथै वायु गुणस्तर कार्य योजना लागु गर्ने र पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा युरो-६ मापदण्ड लागु गर्ने सरकारको योजना छ ।
यो पनि…

सरकारको नीति तथा कार्यक्रम : यी हुन् ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा समेटिएका १० विषय

यस्तो छ ५६ पेजको सरकारको नीति तथा कार्यक्रम [पूर्ण पाठ]

सत्तापक्ष भन्छ- नीति तथा कार्यक्रम उत्कृष्ट, विपक्षीको दाबी- विगतमा असफल भएका कार्यक्रम जोडियो

‘नागरिक उड्डयन र हवाई सेवासम्बन्धी विधेयक यसै अधिवेशनमा पारित गरिने’