काठमाडौं, वैशाख १५ :

नेपाली समाजका गम्भीर समस्यालाई केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले ‘झोला’ र ‘भोर’ चलचित्र निर्माण गरेका थिए । करिब १४ वर्ष अगाडि रिलिज भएको ‘झोला’ व्यापारिक रूपमा समेत सफल बनेको थियो ।

झोला चलचित्रले नेपाली समाजमा एक समय विद्यमान अमानवीय सति प्रथालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरेको थियो, जुन प्रसिद्ध साहित्यकार कृष्ण धरावासीको ‘झोला’ नामक छोटो कथामा आधारित छ ।

त्यसपछि भट्टराईले निर्देशन गरेको ‘भोर’ चलचित्र मधेस क्षेत्रको सामाजिक यथार्थमा आधारित कथामा बनेको थियो । यसले दाइजो प्रथाका कारण महिलाहरूले भोग्नुपरेको हिंसा, घरेलु यातना र सामाजिक अन्यायलाई उजागर गरेको थियो ।

‘भोर’ ले गहिरो सामाजिक सन्देश बोके पनि व्यावसायिक रूपमा भने सफलता हासिल गर्न सकेन । तर, त्यो असफलताले निर्देशक भट्टराईलाई समाज परिवर्तनका लागि अझ गहिरा विषयमा काम गर्न प्रेरित गर्‍यो । सोही प्रयास स्वरूप भट्टराईको तेस्रो प्रयास चलचित्र ‘झिल्को’ हो, जसले आजको डिजिटल कुलतमाथि प्रश्न गरेको छ ।

‘डिजिटल प्रवृत्तिले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको छ । मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दै भर्चुअल दुनियाँमा हराइरहेका छन्,’ भट्टराई भन्छन्, ‘झिल्कोले डिजिटल कुलतले एउटा सामान्य परिवार र बालबालिकामाथि कस्तो असर पार्छ भन्ने कथा प्रस्तुत गरेको छ ।’

निर्देशक भट्टराईले दर्शकलाई ‘झिल्को’ चलचित्रमार्फत आफ्नो गल्तीहरू पहिचान गरेर विवेकपूर्ण जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । ‘चलचित्र समाजको दर्पण र मार्ग निर्देशक हो,’ उनी भन्छन्, ‘त्यसैले हामीले यी संवेदनशील कथाहरू उठान गर्नु आवश्यक ठानेका हौं । झिल्को तपाईं र तपाईंको परिवारको यथार्थसँग गहिरो रूपमा जोडिनेछ ।’

डिजिटल कुलतलाई सामान्य नठान्न उनको सुझाव छ । उनले थपे, ‘आज हामी डिजिटल कुलतलाई सामान्य ठानिरहेका छौं, तर यो आगोको झिल्कोजस्तै विस्तारै हाम्रो आत्मा डढाइरहेको छ । झिल्को यही खतरा देखाउने चलचित्र हो ।’

‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ । जसमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा शिवाकोटी, सुनील पोखरेललगायत कलाकारको अभिनय छ ।

मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् । चलचित्रको कथा तथा पटकथा यादवकुमार भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् ।

‘झिल्को’ का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरणकुमार आचार्य छन् ।