काठमाडौं, वैशाख १० :

काश्मीरको पाहलगममा भएको आतंककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याइँदै छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेश मन्त्रालयसँग गरेको पहलपछि उनको शव आजै ल्याइने व्यवस्था मिलाइएको हो । हिजो (मंगलबार) कश्मीरमा आतंककारीहरुको आक्रमणमा परेर सुदीपको ज्यान गएको थियो ।

उनको साथमा रहेका आफन्तहरु रिमकला पाण्डे, युवराज काफ्ले, सुषमा न्यौपाने र अर्का एक नेपाली हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल ल्याउन लागिएको हो । आक्रमणमा परेर रिमकला घाइते भएकी छन् ।

मन्त्री राणाले नयाँदिल्लीस्थित नेपाली राजदूत शंकर शर्मासँग आज (बुधाबर) बिहानै कुराकानी गरी यस विषयमा समन्वय गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार मन्त्री राणा र राजदूत शर्माले भारतीय विदेश मन्त्रालयसँग यस विषयमा समन्वय गरेका थिए ।

समन्वयपछि आजै साँझ ५ बजे श्रीनगरबाट नयाँदिल्ली र राति साढे ९ बजे नयाँदिल्लीबाट लखनउ हवाई जहाजमा तथा लखनउबाट नेपालको बोर्डरसम्म एम्बुलेन्समा ल्याउने व्यवस्था मिलाइएको छ । दिल्लीबाट लखनउको उडानका लागि उनीहरुलाई सहजीकरण गर्न दिल्ली विमानस्थलमा नयाँदिल्लीस्थित नेपाली दूतावासबाट दुईजना कर्मचारी खटाइएको छ । त्यसैगरी सुनौली बोर्डरबाट बुटवल घरसम्मै उनीहरुलाई पुर्याउने व्यवस्थाका लागि पनि मन्त्री राणाले गृहमन्त्री रमेश लेखकसँग कुराकानी गरेकी छन् ।

घटनास्थलमा रहेका सुदीपका आफन्तहरुले त्यहाँ बस्न सक्ने अवस्था नरहेकाले आजै घर फर्किने व्यवस्थाका लागि अनुरोध गरेपछि परराष्ट्र मन्त्रालयले त्यसका लागि समन्वय गरेको हो । सुदीप बुटवल ११, कालिकानगर रुपन्देहीका बासिन्दा हुन् । हिजोको आतंककारी हमलाको नेपाल सरकारले कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ ।