
राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को परीक्षा यथावत् रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। बोर्डले आज एक विज्ञप्ति जारी गर्दै परीक्षा स्थगित गरिएको भन्ने भ्रामक सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
बोर्डले परीक्षासम्बन्धी कुनै पनि आधिकारिक सूचना आफ्नो वेबसाइटमार्फत मात्र सार्वजनिक हुने स्पष्ट गर्दै अन्य माध्यमबाट आउने खबरमा भर नपर्न सबैमा आग्रह गरेको छ।
यता, विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै गत चैत २० गतेदेखि आन्दोलनमा रहेका शिक्षकहरूले भने कक्षा १२ को वार्षिक परीक्षामा सहभागी नहुने अडान लिइसकेका छन्। उनीहरूको निरन्तर १६ दिनदेखि जारी आन्दोलनका कारण विद्यार्थीहरूमा अझै पनि अन्योल कायम छ।
आन्दोलनकै कारण कतिपय परीक्षा केन्द्रमा आवश्यक जनशक्ति व्यवस्थापनमा कठिनाइ भएको जनाइएको छ। यस वर्ष करिब ५ लाख विद्यार्थी कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुँदैछन्।