काठमाडौं, चैत ७ :

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । निर्वाचन समितिले आज एक सूचना जारी गर्दै तोकिएको चुनावी कार्यक्रम स्थगित भएको जनाएको छ। त्यहाँ  भोलि (चैत ८ गते) का लागि स्ववियु निर्वाचन तोकिएको थियो।

न्यायाधीश डालकुमार खड्काको इजलासले बुधबार छलफलका लागि बोलाउँदै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो।   स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघको तर्फबाट दीपकराज जोशी र अनोज कार्कीको उम्मेदवारी परेकोमा निर्वाचन समितिले कार्कीको उम्मेदवारी रद्द गर्दै जोशीलाई  नेविसंघको आधिकारिक उम्मेदवार मानेको थियो।

समितिको उक्त निर्णयविरुद्ध विष्णुबहादुर बडैलालगायतले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए। मुद्दा टुंगो नलागेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको त्रिविले जनाएको छ।