
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन राजा ज्ञानेन्द्र शाहले मूर्खता नगरेको भए अझै केही वर्ष राजतन्त्र टिक्न सक्ने बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले त्यतिबेला ज्ञानेन्द्रले मूर्खतामार्फत आफूहरूलाई सहयोग गरेकोसमेत चर्चा गरे ।
‘नेताहरूले उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो होला,’ दाहालको भनाइ थियो । गणतन्त्र ल्याउने वेलामा तत्कालीन ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको पनि उनले बताए ।
‘हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रका निम्ति आधार तयार पार्यौं । ज्ञानेन्द्रले आफ्नो मूर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो,’ दाहालले भने, ‘उनले धेरै मूर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो ।’
उनले पछिल्लो समय राजतन्त्र पुन:स्थापनाका लागि भइरहेका आन्दोलनको कुनै औचित्य नभएको दाबीसमेत गरे । ‘अहिले कलाविहीन नाटक प्रदर्शन भइरहेको छ,’ उनले भने, ‘यसले पनि समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सहयोग भएको बुझ्नुपर्छ ।’
पूर्वराजालाई भिलेनको संज्ञा दिँदै अध्यक्ष दाहालले कुनै पनि कथा, उपन्यास, फिल्म हिरोले मात्रै चल्दैन भिलेन पनि चाहिन्छ भिलेनको रोल राम्रो भएन भने हिरो सक्रिय हुने बताए ।