
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. अच्युतप्रसाद वाग्ले नियुक्त भएका छन् ।
विश्वविद्यालयको रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन जनामध्येबाट डा. वाग्लेलाई प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम आज (सोमबार) नियुक्त गरेका हुन् ।
उपकुलपति छनोटका लागि डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समिति गठन गरिएको थियो । विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो ।
काभ्रेको बनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका नवनियुक्त उपकुलपति वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिस्ट्रार थिए । उनले विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डिन, उक्त स्कुलको विज्ञान विभागको प्रमुख र एड्जङ्कट प्रोफेसर रहेर काम गरिसकेका छन् ।
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका छन् ।
उपकुलपतिको कार्यकाल ४ वर्षको रहनेछ ।